मोरङमा नेकपाको बोर्ड हटाएर एमालेको राखियो



विराटनगर (नेस) ।

सर्वाेच्च अदालतको फैसलासँगै मोरङमा नेकपा एमाले ब्युताइएको छ । सोमबार विराटनगर पाञ्चालीस्थित नेकपाको जिल्ला पार्टी कार्यालयमा नेकपा एमालेको बोर्ड राखिएको छ ।अदालतले नेकपा खारेज गरी एकता अघिको नेकपा एमाले र नेकपा माओवादी केन्द्र रहने फैसला गरेपछि उत्साहित भएकाले नेकपा एमालेका कार्यकर्ताले पार्टी कार्यालयको नेकपाको बोर्ड हटाएर नेकपा एमालेको बोर्ड राखेका हुन् ।

संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री भानुभक्त ढकालले नेकपा एमालेको नयाँ बोर्डको अनावरण गर्नुभयो । कार्यक्रममा मन्त्री ढकालले सर्बोच्चको फैसलाले विगतकै एमाले पार्टी फिर्ता पाएको बताउनुभयो । एमाले पार्टी कार्यालय पाञ्चालीमा नेकपाको बोर्ड हटाएर नेकपा एमालेको बोर्ड राखेपछि उपस्थित एमालेका कार्यकर्ताले ताली पड्काएर खुसी साटेका थिए ।

सर्वोच्चको निर्णयपछि साबिक एमालेका कार्यकर्ताहरू निकै खुसी देखिएका छन् । कार्यक्रममा एमालेका केन्द्रीय कमिटीका सदस्यहरू, प्रदेश तथा जिल्ला कमिटीका पदाधिकारीहरूले सर्वोच्चको फैसलाले साबिककै एमाले पार्टी कायम रहेकाले पार्टीलाई अझ मजबुत र एकताबद्ध बनाएर लैजानुपर्ने धारणा राख्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्