उद्योग बाणिज्य संघको चुनावमा वामपन्थी गठबन्धन



पर्वत, (नेस) ।

पर्वत उद्योग बाणिज्य संघको आगामी निर्वाचनमा वामपन्थीहरूबीच गठनबन्धन भएको छ । गठबन्धनले गोपी अधिकारीको नेतृत्वमा साझा समावेशी व्यावसाियक प्लानल घोषणा गरेको छ ।

चैत ७ गते हुने १८ औँ अधिवेशनवाट अध्यक्ष बन्नका लागि साझा समावेशी व्यावसायिक प्यानलको तर्फबाट उम्मेदवारी दिएको अध्यक्षका उमेदवार गोपी अधिकारीले बताउनुभयो । अधिकारी यसअघि पर्वत उद्योग बाणिज्य संघको दुई कार्यकाल वरिष्ठ उपाध्यक्ष तथा विभिन्न पदमा समेत बसिसक्नु भएको छ । अधिकारीले पर्वतका सम्पूर्ण उद्योगी, व्यवसायीको हित र कल्याणको निम्ति सधैं सक्रिय रहेर जिल्लाको समग्र आर्थिक विकासमा टेवा पुर्‍याउन आफूले उम्मेदवारी दिएको बताउनुभयो ।

कार्यक्रममा गण्डकी प्रदेशका उद्योग पर्यटन वन तथा वातावरणमन्त्री विकास लम्सालले जिल्लाको समग्र विकासमा उद्योग बाणिज्य संघको ठूलो भूमिका रहेको बताउँदै गोपी अधिकारीको नेतृत्वमा रहेको समूहलाई विजयी गराउन आग्रह गर्नुभयो । निश्चित राजनीतिक पार्टीको नेतृत्व नभई समावेशी र सबैका भावना समेट्न सक्ने नेतृत्व गोपी अधिकारीले प्रदान गर्न सफल हुनेमा विश्वास व्यक्त गर्दै उद्योगी र व्यवसायीको हितमा निष्पक्ष भएर काम गर्न आग्रह मन्त्री लम्सालले गर्नुभयो ।

पर्वत उद्योग बाणिज्य संघको निर्वाचनमा प्रजातान्त्रिक समुहवाट शिव शर्मा पौडेलले उम्मेदारी घोषणा गर्नुभएको छ । पर्वत उद्योग बाणिज्य संघका यसअघिका निर्वाचनमा वामपन्थीलाई सहयोग गरेको आरोप खेप्दै आउनुभएका पौडेललाई अहिले नेपाली कांग्रेस निकट व्यवसायीले उमेदवारको रुपमा अघि सारेका छन् ।

प्रतिक्रिया दिनुहोस्