कर्णालीमा चार सन्तानसहित आमाले हाम फालिन्, दुईको शव फेला



न्युज अफ नेपाल ,सुर्खेत ।

दैलेखको आठबिस नगरपालिका–३ निमाइलकी एक महिलाले चार सन्तानसहित कर्णाली नदीमा हाम फालेकी छन् ।३५ वर्षीया सुकी बडुवालले ४ छोराछोरीसहित कर्णाली नदीमा हाम फालेकी हुन् ।

नदीमा फाल हालेकामध्ये दुई छोरीको शव अछाममा भेटिएको प्रहरीले जनाएको छ । १४ वर्षीया कल्पना बडुवाल र १२ वर्षीया सरिता बडुवालको शव हात बाँधिएको अवस्थामा अछामको पञ्चदेववल विनायक नगरपालिका–४ मा फेला परेको प्रहरीले जनाएको छ ।

दुई जनाको शव भेटिए पनि ३ जना सम्पर्कविहीन छन् । आमा सुकी, १० वर्षीय ललित र पाँच वर्षीया रजनीको खोजी जारी रहेको प्रहरीले जनाएको छ । मध्यपहाडी लोकमार्गको अछाम जोड्ने पुल भन्दा दुई सय मिटर माथि पाँचै जनाको चप्पल नदी किनारमा भेटिएपछि उनीहरुले कर्णालीमा हाम्फालेको अनुमान प्रहरीको छ । केही स्थानीयबासीले पनि उनीहरूले हाम फालेको देखेको बताएपछि प्रहरीले उनीहरूको खोजी शुरू गरेको थियो । हाम फालेकी महिलाका श्रीमान मानसिंह बडुवाललाई प्रहरीले पक्राउ गरेर थप अनुसन्धान अघि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्