उपाधिको भिडन्तमा एपीएफ र पुलिस



नेपालगञ्ज, (नेस) ।

सातौं प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगितामा सशस्त्र प्रहरी बलको नेपाल एपीएफ क्लब र नेपाल पुलिस क्लब फाइनलमा पुगेका छन् ।
नेपालगञ्ज रंगशाला परिसरमा अवस्थित कभर्डहलमा सोमबार एपीएफले होंगान्जी न्यु डायमन्ड क्लबलाई ३–१ सेटले पराजित गरेको हो । पहिलो सेट न्यू डायमण्डले २५–२३ ले जितेको थियो । त्यसपछि लगातार एपीएफले २५–१३, २५–१७ र २५–२२ ले सेट जित्दै न्यु डायमन्डलाई पराजित ग¥यो । ‘प्लेयर अफ द म्याच’ एपीएफकी बिनिता बुढाथोकी भइन् ।

बाँके जिल्ला भलिबल संघले आयोजना गरेको प्रतियोगिताअन्तर्गत अर्को खेलमा पुलिसले त्रिभुवन आर्मीलाई ३–१ ले पराजित गरेर लगातार तेस्रो जीत निकाल्यो । पहिलो सेट गुमाएर पनि पुलिसले पुनरागमन गरेको थियो । पहिलो सेट आर्मीले २५–१५ मा जितेको थियो । दोस्रो सेट पुलिसले २५–१८ ले जित्यो ।तेस्रो सेटमा अन्तिममा ५ अंकको अग्रता लिएर पनि त्यसलाई कायम राख्न नसक्दा आर्मी पराजित हुन पुग्यो । आर्मीको २४ अंक हुँदा पुलिसको १९ अंक थियो । १९ अंकबाट बढेर पुलिसले तेस्रो सेट जित्यो । यो सेटमा पुलिस २७–२५ ले विजयी भयो । चौथो सेटमा पुलिस २५–२३ ले विजयी भयो । ‘प्लयेर अफ द म्याच’ पुलिसकी मनिषा चौधरी.भइन् ।

प्रतिक्रिया दिनुहोस्