मोफसलका महिला पत्रकारलाई पेसामा टिक्नै चुनौती



नेपाल समाचारपत्र, डडेल्धुरा।

मौफसलमा पत्रकारिता पेशा दिनहुँ चुनौतीपूर्ण बन्दै गएको र महिला पत्रकारहरूलाई पेशामा टिक्नै समस्या भइरहेको डडेल्धुरामा क्रियाशील महिला सञ्चारकर्मीले बताएका छन ।दलित महिला संघ (फेडो) डडेल्धुराले सोमबार सदरमुकाममा आयोजना गरेको सिमान्तकृत महिलाहरूको क्षेत्रमा महिला पत्रकारहरूको भूमिका विषयक अन्तरक्र्रिया कार्यक्रममा सहभागी जिल्लामा कृयाशील महिला पत्रकारहरूले पेसामा टिकिरहन निकै कठिनाई भइरहेको बताएका हुन् । कार्यक्रममा सहभागी महिला पत्रकारहरूले अहोरात्र समाचार संकलन गर्नुपर्दा घरायसी कामको बोझका कारण महिलाहरूले पत्रकारिता पेसामा टिकिरहन समस्या भएको बताए ।

आमसञ्चार माध्यममा रातदिन खटेर काम गर्दा पनि पारिश्रमिक अन्त्यन्तै न्युन हुने र घरायसी कामको बोझका कारण महिला पत्रकारहरूले पत्रकारिता क्षेत्रमा लगानशीलताका साथ काम गर्न नसकेको पत्रकार ममता भट्टले बताउनुभयो । उहाँले नाम र पहिचानका लागि आफुले पत्रकारिता पेसालाई निरन्तरता दिइरहेको भए पनि समय व्यवस्थापन हुन नसक्दा बालबच्चा हुर्काउन समस्या भईरहेको जिकिर गर्नुभयो ।१११औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा आयोजित कार्यक्रममा नेपाल पत्रकार महासंघ डडेल्धुरा शाखाका पूर्वअध्यक्ष राम धामीले पत्रकारितामा महिलाको अवस्था र प्रमुख सवालहरू विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

कार्यपत्रमाथि टिप्पणी गर्दै कार्यक्रमका सहभागी महिला पत्रकारहरूले महिला पत्रकारहरू भौतिक रूपमा समेत असुरक्षित हुन थालेकाले पेशागत र भौतिक रूपमा महिला पत्रकारहरूले भोगिरहेका चुनौतीहरू न्यूनीकरणका लागि तीनवटै तहका सरकारको महत्वपूर्ण भूमिका हुने बताए ।फेडो डडेल्धुराकी अध्यक्ष रूपा भट्टको सभापतित्वमा सम्पन्न कार्यक्रममा सो संस्थाकी सचिव अञ्जु गैरेले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन कार्यक्रम संयोजक सुनीता गैरेले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्