१३ जना महिला सम्मानित



विराटनगर, (नेस)  ।

१११औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा प्रदेश–१ सरकारले राजधानी विराटनगरमा विविध कार्यक्रम गरेको छ । सो अवसरमा प्रभातफेरी तथा अग्रणी भूमिका निर्वाह गर्ने महिलाहरूलाई सम्मान गरिएको छ । दिवसको अवसरमा सोमबार बिहानै जिल्ला प्रशासन कार्यालय चोकबाट सरोकारवाला सम्मिलित प्रभातफेरी निकालिएको थियो ।

उच्चस्तरीय राजनीतिक नेतृत्व, प्रहरी प्रशासन, महिला सशक्तीकरणको क्षेत्रमा काम गर्ने संघसंस्था, नागरिक समाज र विद्यार्थीहरूको सचेतनामूलक प्रभातफेरीले प्रदेश राजधानीको मुख्य सडकहरूको परिक्रमा गरेको थियो । महिला हिंसा न्यूनीकरण गर्दै महिलाहरूको सशक्तिकरण गर्न प्रदेश–१ सरकारले महत्वपूर्ण कदमहरू चालेको सम्बद्ध सामाजिक विकास मन्त्रालयले जनाएको छ ।मन्त्रालयकी सामाजिक महाशाखा प्रमुख दुर्गा भण्डारी बरालले प्रदेश सरकारले हिंसापीडित महिला तथा बालिकाको संरक्षणका लागि, उद्धार, पुर्नस्थापना र काउन्सिलिङ गर्ने काम गरिरहको बताउनुभयो । उहाँले घरेलु हिंसासम्बन्धी प्रदेशको ऐनकानुन आइसकेको जानकारीसमेत गराउनुभयो । यसपटक महिलाको सुरक्षा, सम्मान र रोजगार समृद्ध नेपालको आधार नारासहित महिला दिवस मनाइएको छ । महिलाहरूलाई आर्थिकरूपमा सशक्त बनाउँदै पारिवारिक शिक्षामा सुधार आवश्यक रहेको जिल्ला प्रहरी प्रमुख सन्तोष खड्काको भनाइ छ ।

महिला दिवसको सन्दर्भ पारेर यसपटक प्रदेश सरकारले १३ जना महिलालाई सम्मानसमेत गरेको छ । सम्मानित हुने फ्रन्टलाइनर महिलाहरूमा ९ जना स्वास्थ्यसँग जोडिएका तथा २ जना महिला प्रहरी छन् । कोभिड महामारीको समयमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै उनिहरूलाई प्रदेश एकका प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गर्नुभयो ।सम्मानित हुने महिलाहरूमा कोशी अस्पताल विराटनगरकी कन्सल्टयान्ट प्याथोलोजिस्ट डाक्टर कामना शर्मा, जिल्ला अस्पताल सुनसरीकी मेडिकल अधिकृत डाक्टर रिचा भट्टराई, विराटनगरस्थित कोभिड उपचार केन्द्रकी स्टाफ नर्स दिव्या श्रेष्ठ र जिल्ला अस्पताल धनकुटा अस्पतालकी नर्सिग निरीक्षक शीला सुब्बा रहनुभएको छ ।

यसैगरी, उदयपुरस्थित बेल्टार नगर अस्पतालकी स्टाफ नर्स नीरु लिवाङ, मेची अस्पताल भद्रपुरकी स्टाफ नर्स अनामिका राजवंशी सोही अस्पतालकी अनमी अनिता दाहाल र विराटनगर महानगरपालिकाकी स्टाफ नर्स रेणुका चौधरी हुनुहुन्छ । प्रहरीतर्फ भने इलाका प्रहरी कार्यालय रानीकी प्रहरी नायब निरीक्षक तारा विष्ट र जिल्ला प्रहरी कार्यालय झापाकी प्रहरी जवान पूजाकुमार विश्वासलाई समेत प्रदेश प्रमुखले सम्मान गर्नुभयो । वर्ष दिनमा एकपटक मनाइने दिवसका अलावा वर्षभरि नै महिला हिंसा न्यूनीकरण तथा सशक्तीकरणका कार्यक्रमहरू आयोजना गर्ने गरिन्छ । यद्यपि, महिला हिंसाको अवस्था सन्तोषजनक नरहेको तथ्यांकहरूमा देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्