बेलायती राजपरिवार सदस्य मेगानलाई ‘मरूँ मरूँ लाग्थ्यो’



लन्डन, (एजेन्सी) ।

बेलायतका डचेस अफ सस्सेक्स मेगानले आफूलाई बेलायती राज परिवारभित्रको जीवन निकै कठिन भएको कारण कहिलेकाहीं आफूलाई ‘एक पल पनि बाँच्न मन नलाग्ने’ सोच आउने गरेको अभिव्यक्ति दिएकी छन् । टेलिभिजनमा नितान्त निजी जीवनबारे अन्तर्वार्ता दिने क्रममा उनले ओपराह विन्फ्रिलाई आफूले खोजेका बेला शाही परिवारबाट कुनै मद्दत पनि नपाएको रहस्य पनि बताएकी छन् ।

मेगानले एकपटक आफ्नो पति तथा राजकुमार ह्यारीलाई राज परिवारकै एक सदस्यले आफूहरूको छोराको केश कति कालो हुनुपर्छ भन्ने प्रश्न गर्दा अत्यन्तै चित्त दुखेको पनि बताएकी छन् । राजकुमार ह्यारीले पनि आफू राजपरिवारबाट अलगिन चाहेपछि आफ्नो पिता चाल्सर्ले आफ्नो फोनसमेत उठाउन छाडेको बताएका छन् ।बहुप्रतिक्षित ओपराहलाई दिइएको उक्त ऐतिहासिक अन्तर्वार्ता संयुक्त राज्य अमेरिकामा हालै प्रसारित भइसकेको छ । सीबीएस स्पेसलको रूपमा लिइएको उक्त दुईघन्टे अन्तर्वार्ता सोमबार बेलुका ९ बजे बेलायतको आइटिभी र आइटिभी हबबाट प्रसारण भएका छन् । ह्यारी र मेगानले यस अन्तर्वार्तामा रंगभेद, मानसिक स्वास्थ्य तिनीहरूको सञ्चार माध्यमसँगको सम्बन्ध तथा शाही परिवारको निजी सम्बन्ध आदिजस्ता विषयमा पनि बोलेका छन् । साथै, ह्यारी दम्पतीले केही समयपछि मेगानको कोखबाट एक छोरीको जन्म हुन गइरहेको सुखद समाचार पनि सार्वजनिक गरेका छन् ।

मेगानले बताएकी छन्, ‘ममाथि ‘के गर्नु हुन्छ के गर्नु हुन्न’ जस्ता बन्देजहरू लगाइएपछि मैले निकै नियाश्रो महशुस गर्न थालेकी थिएँ । कहिलेकाहिँ त म महिनौंसम्म पनि घरबाट बाहिर निस्कन पाउँदिनथें । त्यतिवेला अवश्य पनि आत्महत्याको समेत सोच आउने गर्दथ्यो ।’हयारी र मेगानबीच एकजना दुवैले चिन्ने साथी मार्फत् सन् २०१६ मा ब्लायन्ड डेटिङमा भेटघाट भएको थियो । सन् २०१८ को मे महिनामा तिनीहरूको विन्डसोर क्यासलमा विवाह सम्पन्न भएको थियो । तिनीहरूबाट सन् २०१९ को ६ मेमा छोरा आर्चीको जन्म भएको थियो । सन् २०२० को मार्चमा क्यानाडामा जाने क्रममा तिनीहरूले औपचारिक रूपमा शाही परिवारको सम्मानित पदवी त्यागेका थिए । सोही वर्ष तिनीहरू पछि क्यानाडाबाट अमेरिकाको क्यालिफोर्निया गएका थिए ।

प्रतिक्रिया दिनुहोस्