इरानलाई चेतावनी दिँदै अमेरिकी बमवर्षक उडे



तेहरान, (एजेन्सी) ।

वासिङ्टन र तेहरानबिच तनाव बढिरहेको वर्तमान अवस्थामा तेहरानलाई चेतावनी दिने उद्देश्यले आइतबार अमेरिकाका दुईवटा बम वर्षक ‘बि–५२’ विमान मध्यपूर्वको आकाशमा उडेका छन् । केही दिनअघि मात्र मध्यपूर्वमा एउटा इजरायली जहाज रहस्यमय आक्रमणबाट विस्फोट भएको समय इरानी सैनिक ड्रोनबाट खिचिएको भिडियो फुटेज बेरुतस्थित एउटा इरान समर्थित स्याटेलाइट च्यानलले प्रशारण गरेलगत्तै ती बमवर्षक विमान उडाइएका हुन् ।

आफ्नो पानी जहाजमा गरिएको सो आक्रमणका लागि इजरायलले इरानलाई दोष दिएको थियो । तर, इरानले यसमा आफ्नो कुनै संलग्नता नरहेको बताएको छ । अमेरिकी सेनाको सेन्ट्रल कमान्डले इजरायल, साउदी अरेविया र कतार लगायतका सैनिक विमानसँगसँगै आफ्ना दुईवटा ‘बि–५२’ बमवर्षक खाडी क्षेत्रमा उडेको पुष्टि गरेको छ ।यसै वर्ष मात्र यो समेत चौथौपटक सो क्षेत्रमा बमवर्षक लडाकु विमान तैनाथ गरिएको हो ।

तर, राष्ट्रपति जोय बाइडेनको सरकार बनेयता भने दोश्रोपटक त्यहाँ लडाकु विमान पठाइएको हो । ती दुईवटा विमान नर्थ डाकोटाको मिनोट वायु सैनिक अखडाबाट उडेका हुन् ।तर, अमेरिकी सेनाले भने इरानको नामै उच्चारण नगरीकन सो क्षेत्रमा अमेरिकी गठबन्धन र साझेदारहरुलाई सुरक्षाको ग्यारेन्टी दिने उद्देश्यले यो कारबाही चलाइएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्