फेरि भेटौंला भन्दै छुट्टिए प्रचण्ड–नेपाल

नेकपाको हैसियतमा अन्तिम बैठक



मधुसूदन रायमाझी, काठमाडौं  ।

सर्वोच्च अदालतको फैसलासँगै नेपाल कम्युनिस्ट पार्टी औचापरिकरुपमा विभाजित हुँदै नेकपा एमाले र नेकपा माओवादी केन्द्र बनेको छ । फैसलासँगै नेकपा प्रचण्ड–नेपाल समूह औपचारिकरुपमा छुट्टिएका छन् ।

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध विगत एक वर्षदेखि गठबन्धन बनाउँदै आएका प्रचण्ड–नेपाल समूह पार्टी अलग–अलग भएपछि औपचारिकरुपमा विभाजित भएका छन् । प्रचण्डले माओवादी केन्द्रको अध्यक्षको जिम्मेवारी सम्हाल्ने हुनुभएको छ भने माधवकुमार, झलनाथ खनाललगायतका नेताहरु पुनः एमालेमै फर्किनुभएको छ । माधवकुमार नेपाल पक्षसँग पार्टीको संसदीय दलमा चालीस प्रतिशत बहुमत नहुँदा बाध्य भएर अध्यक्ष ओलीलाई नै नेता मान्दै फर्किएका हुन् ।पेरिसडाँडामा बैठक सकिएपछि बाहिरिने क्रममा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अलग भए पनि मन विशाल भएको प्रतिक्रिया दिनुभयो । ‘प्रचण्डजीको र हाम्रो आजबाट पार्टी अलग भए पनि हाम्रो मन विशाल छ । अनौपचारिक छलफल भइराख्छ, एकताको प्रक्रियालाई फेरि बढाउन पहल गर्छौं।’ –उहाँले भन्नुभयो । नेता नेपालले सर्वोच्चको निर्णय कार्यान्वयन गरेर जाने र पार्टी एकताको प्रयास पनि जारी राख्ने बताउनुभयो ।

सोमबार नेकपाको हैसियतमा पेरिसडाँडामा प्रचण्ड–नेपालको अन्तिम स्थायी कमिटी बैठक बसेको थियो । सोही बैठकले एमाले र माओवादी केन्द्र औपचारिकरुपमा अगल–अलग हुने निर्णय गरेको हो । प्रचण्ड–माधव पक्षका नेताहरुले सर्वोच्चको फैसलाप्रति असहमति जनाउँदै कार्यान्वयन गर्ने निष्कर्ष पनि निकालेको छ ।बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले नेकपाको हैसियतमा सोमबारको बैठक अन्तिम भएको बताउनुभयो । ‘अब नेकपाको हैसियतमा यो अन्तिम बैठक हुन सक्छ, सर्वोच्च अदालतको फैसला कार्यान्वयनमा जाने नै भयो, दुईवटा पार्टीको बीचमा फेरि एकताको पहल भयो भने त्यही ढंगले हुनेछ । अब माओवादी केन्द्र र एमालेको प्रक्रिया अघि बढ्नेछ ।’ –उहाँले भन्नुभयो ।नेता श्रेष्ठले बैठकमा २०७५ जेठ ३ गते भएको एकताको उद्देश्यलाई गम्भीरताका साथ लिएर अगाडि बढ्ने निष्कर्ष निकालिएको बताउँदै पार्टी एकता सही भएकाले आगामी दिनमा पनि नेपालका कम्युनिस्ट एकतालाई जारी राखिने निर्णय भएको बताउनुभयो । त्यसै गरी बैठकले सर्वोच्चको फैसलाप्रति असहमति र न्यायिक पुनरावलोकनमा पनि निर्णय गरेको छ ।

प्रवक्ता श्रेष्ठले एमाले र माओवादी गरी फरक–फरक पार्टी भएकाले ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने बारेमा छलफल भइरहेको पनि बताउनुभयो । उहाँका अनुसार माओवादीका हैसियतमा बस्ने बैठकले निर्णय गर्नेछ । त्यसै गरी माओवादीबाट सरकारमा गएका मन्त्रीहरुलाई फिर्ता ल्याउने बारेमा आ–आफ्नै ढंगले निर्णय गर्ने बताउँदै सर्वोच्चको फैसला आफै पनि चुनौतीपूर्ण र व्यवहारमा कठिन भएको बताउनुभयो । उहाँले पार्टी एकताको पहललाई जारी राख्दै निर्णय भएको जानकारी दिँदै अझै पनि कम्युनिस्ट पार्टीहरुको बीचमा एकताको विकल्प नरहेको बताउनुभयो ।प्रधानमन्त्री ओलीको कार्यशैलीप्रति प्रचण्ड–नेपाल समूहले मोर्चाबन्दी गर्दै आएको थियो । पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि नेकपा अनौपचारिकरुपमा दुई समूहमा विभाजित भएको थियो । प्रचण्ड–नेपाल समूहले माधवकुमार नेपाललाई अध्यक्षसमेत चयन गरेको थियो ।

निर्वाचन आयोगमा आधिकारिकताको विवाद कायमै रहेका बेला नेकपा खारेज गर्दै सर्वोच्च अदालतले पूर्ववत् पार्टी नै ब्यँुताउने फैसला गरेपछि नेकपा औपचारिकरुपमा एमाले र माओवादी केन्द्र बनेको छ । यो फैसलाले सबैभन्दा नैतिक संकटमा माधवकुमार नेपाल पक्ष परेको छ । पार्टी विभाजित गर्न पनि नसकिने र प्रचण्डसँग पनि जान नसक्ने अवस्था भएपछि ओली नेतृत्वकै एमालेमा फर्किन बाध्य भएका छन् । नेकपाका हैसियतमा पेरिसडाँडामा बसेको अन्तिम बैठकपछि छुट्टिने क्रममा प्रचण्ड नेपाल समूहका नेताहरु भावुक भएर बाहिरिएका थिए ।

प्रतिक्रिया दिनुहोस्