महिलाको गुणात्मक सहभागिता बढाइनुपर्छ : उपराष्ट्रपति पुन



काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनले महिला सहभागिता सङ्ख्यात्मक रुपमा बढाएर मात्रै नभई उनीहरुको क्षमता अभिवृद्धितर्फ पनि ध्यान दिइनुपर्ने खाँचो औँल्याएका छन् । एक सय एघारौँ अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा नेपाल चेम्बर अफ कमर्सले यहाँ आयोजना गरेको नारी सम्मान समारोहलाई सम्बोधन गर्दै उपराष्ट्रपति पुनले महिला अधिकारको सुनिश्चितताका साथै गुणात्मक सहभागिता बढाइनुपर्नेमा जोड दिए ।

महिला सशक्तीकरण कुनै पनि देशको विकाससँग जोडिएको सवाल भन्दै उपराष्ट्रपति पुनले महिलालाई दुई महत्वपूर्ण पाटो शिक्षा र आर्थिक क्षेत्रमा समानताको अवसर दिलाइनुपर्छ भने। उनले नेपालको आर्थिक समृद्धिका लागि महिला उद्यमशीलता आवश्यक रहेको र महिलाद्वारा सञ्चालित उद्योग व्यवसायमा राज्यले विशेष सहुलियतको व्यवस्था गरिनुपर्ने बताए ।

उपराष्ट्रपति पुनले नेपालमा विभिन्नखाले क्रान्ति र आन्दोलनमा महिलाको सक्रिय सहभागिता रहेको र उनीहरुको संलग्नता र सङ्घर्षबाटै अहिलेको उपलब्धी भएको भन्दै उनीहरुको योगदान र वलिदानको उच्च सम्मान प्रकट गरे ।

संविधानले प्रत्येक महिलालाई लैंगिक भेदभावबिना समानपक्षीय र राज्यका सबै निकायमा समानुपातिक, समावेशी सिद्धान्तको आधारमा सहभागी हुने हक र सम्पत्ति तथा पारिवारिक मामिलामा दम्पत्तिको समान अधिकारलगायत विषयमा संविधानले महिलालाई धेरै हदसम्म अधिकार सम्पन्न बनाएको उनको भनाइ थियो ।

उपराष्ट्रपति पुनले सामाजिक न्यायसहितको समानुपातिक व्यवस्थाले आज राज्यका हरेक निकायमा महिला सहभागिता बढेको, जननिर्वाचित निकाय, सरकारी सेवा, रोजगारी स्वास्थ्यलगायत विविध सेवामा महिला सहभागिता बढेको बताए । उनले राष्ट्रियसभा र प्रतिनिधिसभामा ३३ प्रतिशत महिला सहभागिता र स्थानीय तहमा करीब ४१ प्रतिशत महिला सहभागी रहनु नेपाल र नेपाली महिलाका लागि मात्र नभएर विश्वकै लागि ठूलो उपलब्धि भएको बताए ।

प्रतिक्रिया दिनुहोस्