मलेसियामा ज्यान गुमाएका मगरको शव २० दिनपछि नेपाल ल्याइयो



लिला सुनुवार, ओखलढुंगा ।

वैदेशिक रोजगारीको शिलशिलामा मलेसियामा ज्यान गुमाएका ओखलढुंगाको मानेभञ्ज्याङ्ग गाउँपालिका ६ स्थित थाक्लेका ४५ वर्षीय छत्र बहादुर मगरको शव २० दिन पछि नेपाल ल्याइएको छ ।

आप्रबासी सुचना कक्षको पहलमा मलेसियाबाट मगरको शव नेपाल ल्याएर आफन्तलाई बुझाइएको हो । २०७७ माघ २९ गते मलेसियामा मगरको टाउँको गहिरो चोट लागेर मृत्यु भएको बताइएको छ । घटनाको कारण भने खुल्न सकेको छैन । मगरको मलेसियामा मृत्यु भएको गाउँपालिका अध्यक्ष मोतिराज राईले सुचना कक्षलाई जानकारी गराएपछि पहल थालिएको थियो । उनी २०७० सालदेखि मलेसियामा काम गर्दै आएका थिए । शव आफन्तलाई जिम्मा लगाएर सामाजिक तथा धार्मिक परम्परा अनुसार अन्त्यष्टि तथा कामकाज भएको आफन्तले बताएका छन् ।

मगरको शव नेपाल ल्याउन स्थानीय शिक्षक नमेश राई, गाउँपालिका अध्यक्ष मोतिराज राईले आवश्यक कागजात जुटाउन सहयोग गरेको सुचना कक्षले जनाएको छ । सेन्टर फर माइग्रेसन एण्ड इन्टरनेशन रिलेशनसँगको सहकार्यमा दुताबासमा कागजपत्र पठाएर शव नेपाल ल्याउने काम भएको हो ।

ग्रामीण उद्यम तथा विप्रेशण आयोजना, सिद्धिचरण नगरपालिका र चिशंखुगढी गाउँपालिका त्रिपक्षीय साझेदारीमा सुचना कक्ष सञ्चालनमा रहेको छ । सुचना कक्षले वैदेशिक रोजगारीमा जाँदा हुने जोखिम, अपनाउनु पर्ने प्रकृया तथा आइपर्ने समस्या समाधानका लागि अभिमूखिकरण गर्ने, विदेशमा जानु भन्दा स्वदेशमै रोजगारीका विकल्प खोज्न प्रोत्साहन गर्ने तथा विदेशमा अलपत्र परेका व्यक्तिको उद्धार तथा शव नेपाल ल्याउने काममा समन्वय गर्दै आएको छ ।

यसअघि सुचना कक्षको पहलमा दुई वटा शव नेपाल ल्याइएको र वैदेशिक रोजगारीका क्रममा ठगिएका मृत्यु भएका ४ परिवारलाई क्षतिपूर्ति दिलाउने काम गरेको केन्द्रले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्