भारतको सहयोगमा चन्द्रागिरीस्थित श्री विष्णुदेवी माध्यमिक विद्यालयको पुनर्निर्माण सुरु



न्युज अफ नेपाल, काठमाडौं ।

भारतको सहयोगमा चन्द्रागिरी नगरपालिकास्थित श्री विष्णुदेवी माध्यमिक विद्यालयको पुनर्निर्माण सुरु भएको छ ।

भारतीय राजदूतावासको पुनर्निर्माण तथा विकास सहकार्य प्रभागका प्रमुख डा. प्रफुल्लचन्द्र शर्मा र चन्द्रागिरी नगरपालिकाका मेयरको उपस्थितिमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले भूमि पूजन कार्यक्रम सम्पन्न गरेका हुन् ।

शिक्षा क्षेत्रमा भारत सरकारको सहयोगमा पुनर्निर्माण हुन लागेको यो ६८ औं विद्यालय हो । ६ करोड ४९ लाख लागतमा पुनर्निर्माण हुन लागेको श्री विष्णुदेवी माध्यमिक विद्यालय नेपाल सरकारले निर्धारण गरेको भूकम्प प्रतिरोधी मापदण्ड अनुरुप निर्माण हुने बताइएको छ ।

विद्यालयको नयाँ भवनमा शैक्षिक, प्रशासनिक तथा प्रयोगशाला र पुस्तकालय गरी तीनवटा ब्लकहरु हुनेछन् जसमा १३ वटा कक्षा कोठा, परीक्षा हल, प्रयोगशाला कक्ष, कम्प्युटर कक्ष, पुस्तकालय, विद्यालय व्यवस्थापन समितिका लागि कक्ष, प्रशासनिक कक्ष र छात्र तथा छात्राका लागि छुट्टा छुट्टै सरसफाई संरचनाको सुविधा रहनेछन् । यी विद्यालयहरुको निर्माणका लागि केन्द्रीय भवन अनुसन्धान संस्थान ९सीबीआरआई०, रुड्कीले प्राविधिक सहयोग प्रदान गर्ने भएको छ । केन्द्रीय भवन अनुसन्धान संस्थान (सीबीआरआई) भूकम्प प्रतिरोधी पुनर्निर्माण क्षेत्रमा भारतको शीर्ष संस्थानको रुपमा परिचित छ ।

उक्त कार्यक्रममा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको केन्द्रीय आयोजना कार्यान्वयन इकाई ९भवन० का परियोजना निर्देशक, भारतीय राजदूतावास तथा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अधिकारी, विद्यालय व्यवस्थापन समितिका प्रतिनिधि, स्थानीय सामुदायिक सदस्य तथा विद्यालयका विद्यार्थीहरुको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्