बाणिज्यको कारबाहीबाट २७ लाख राजस्व संकलन



कृष्णउदास खनाल, वीरगन्ज ।

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगन्जले चालू आर्थिक वर्षको ७ महिनामा १७९ वटा उद्योग तथा व्यापारिक प्रतिष्ठानमा अनुगमन गरेको छ ।साउनदेखि माघसम्ममा उपभोक्ता हितविपरीत कार्य गर्ने १०२ वटा प्रतिष्ठानलाई जरीवाना तिराइएको कार्यालयका सूचना अधिकृत दिलीप खंग खत्वेले जानकारी दिनुभयो ।

यो अवधिमा सबैभन्दा बढी अनुगमन र कारबाही खाद्यान्न किरानातर्फ भएको कार्यालयका निमित्त प्रमुख जितबहादुर भण्डारीले बताउनुभयो । ७ महिनामा ६९ वटा खाद्यान्न किरानामा अनुगमन भएको र तीमध्ये ४६ वटालाई जरिवाना गर्नुपरेको प्रमुख भण्डारीले बताउनुभयो। खाद्यान्न तथा किराना उपभोक्ताको स्वास्थ्यसँग बढी सरोकार राख्ने भएकाले यस्ता वस्तुको उत्पादन र बिक्री वितरणमा अनुगमन बढी केन्द्रित गरिएको सूचना अधिकृत खत्वेले बताउनुभयो । २६ हजार ३९१ रुपियाँको खाद्यान्न र २६ हजार ६९५ रुपियाँको मदिरा नष्ट गरिएको छ । अनुगमनका क्रममा ५९ वटा व्यापारिक प्रतिष्ठानले मापदण्ड पूरा गरेर सञ्चालनमा रहेको पनि पाइएको कर्यालयको तथ्यांकमा उल्लेख छ ।कार्यालयले ७ महिनामा ९ वटा खाद्यान्न उद्योग, ३ वटा पेन्ट उद्योग र तयारी पोशाकका उद्योगमा अनुगमन गरेको छ ।

वीरगन्जमा रहेको एउटा तयारी पोशाक उद्योगले बहुराष्ट्रिय कम्पनीको उत्पादनको नक्कल गरेको पाइएपछि ३ लाख रुपियाँ जरिवाना गरिएको थियो ।कार्यालयबाट मदिरा, तेल, डेरी र स्टील उद्योग, कस्मेटिक, फलफूल तथा तरकारी पसल, होटललगायतको अनुगमन भएको छ । यो अवधिमा कारबाहीमा परेका उद्योग र व्यापारिक फर्मबाट २७ लाख ५३ हजार रुपियाँ जरिवाना उठेको निमित्त कार्यालय प्रमुख भण्डारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्