अफ्रिकी मुलुकमा निर्यात प्रवर्द्धन गर्न जोड



काठमाडौं, (नेस) ।

दक्षिण अफ्रिकाका लागि नेपाली राजदूत निर्मलकुमार विश्वकर्मा र नेपाल उद्योग परिसंघका पदाधिकारीबीच आइतबार छलफल भएको छ । छलफलमा राजदूत विश्वकर्माले नेपाल र अफ्रिकी मुलुकबीचमा हुने व्यापार सम्बन्धका बारेमा चासो देखाउनु भएको थियो ।

उहाँले आफ्नो कार्यक्षेत्रभित्र पर्ने १२ वटा मुलुकमा व्यापार तथा लगानीका सम्भाव्यताको पहिचान गरी नेपालसँगको व्यापार प्रवर्द्धन तथा देशमा लगानी भित्र्याउने सम्बन्धमा सक्दो पहल गर्ने बताउनु भएको छ । दक्षिण अफ्रिकी मुलुकमा रहेका उद्योग व्यवसायसँग आबद्ध संस्थाको पहिचान गरी नेपाल र दक्षिण अफ्रिकी चेम्बरहरुसँगको सहकार्यमा निर्यात प्रवद्र्धन र लगानी विस्तारका क्षेत्रमा सहकार्य गर्ने वातावरण बनाउन पहल गर्ने बताउनुभयो ।

छलफलमा परिसंघका अध्यक्ष सतिशकुमार मोरले नेपालले आर्थिक कूटनीतिलाई उच्च प्राथमिकतामा राखेर कूटनीतिका माध्यमबाट देशमा लगानी भित्र्याउन र निर्यात प्रवर्द्धन गर्न विशेष पहल गर्नुपर्ने बताउनु भएको छ । दूतावासहरुले नेपालको उत्पादनलाई प्रदर्शन गर्नको लागि प्रदर्शनी केन्द्रको स्थापना गरी निर्यात प्रवद्र्धनमा सघाउ पु¥याउन राजदूत विश्वकर्मालाई अनुरोध गर्नुभयो ।

अध्यक्ष मोरले नेपालमा दक्षिण अफ्रिकाबाट ठूलो मात्रामा कोइला आयात भइरहेको सन्दर्भ उल्लेख गर्दै नेपालबाट पनि हस्तकलाका सामान, पस्मिना, ऊनी कपडालगायतका उत्पादनलाई निर्यात गर्नको लागि पहल गर्नुपर्ने धारणा राख्नुभयो । स्वदेशमा नै औद्योगिकरणको माध्यमबाट रोजगारी सिर्जना गर्ने र लगानीमैत्री वातावरण तयार गर्नको लागि परिसंघ निरन्तर लागिरहेको उल्लेख गर्दै अफ्रिकी मुलकबाट पनि लगानी भित्र्याउन सकिने बताउनु भएको छ । यसको लागि परिसंघको रिसर्च सेलले नेपाल र दक्षिण अफ्रिका बीचको व्यापार तथा लगानीका क्षेत्रमा अध्ययन गरिरहेको जानकारी गराउनुभयो ।

प्रतिक्रिया दिनुहोस्