बैंक तथा वित्तीय संस्था परिसंघमा नयाँ नेतृत्व



काठमाडौं, (नेस) ।

बैंक तथा वित्तीय संस्था परिसंघ नेपालको प्रथम वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । उक्त साधारण सभाले एनएमबी बैंकका अध्यक्ष पवनकुमार गोल्यानको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

परिसंघको वरिष्ठ उपाध्यक्षमा भोजबहादुर शाह (बाणिज्य बैंक) र उपाध्यक्ष (विकास बैंक) राजेश उपाध्याय चयन हुनु भएको छ । त्यस्तै केशवबहादुर रायमाझी (बाणिज्य बैंक) महासचिव, तुलसीराम अग्रवाल (बाणिज्य बैंक) कोषाध्यक्ष, कुशप्रसाद मल्ली (फाइनान्स कम्पनी) सचिव, मनोजकुमार केडिया (बाणिज्य बैंक) र सह–कोषाध्यक्ष रहनु भएको छ ।

यसैगरी सदस्यहरूमा पृथ्वीबहादुर पाण्डे (बाणिज्य बैंक), तुलसीप्रसाद गौतम (बाणिज्य बैंक), इच्छाराज तामाङ (बाणिज्य बैंक¬), उपेन्द्रकेशरी न्यौपाने (बाणिज्य बैंक), महेन्द्र कुमार गोयल (विकास बैंक), दशरथ रिसाल (विकास बैंक) र हिरेन्द्रमान प्रधान (फाइनान्स कम्पनी) रहनु भएको छ । नवनिर्वाचित कार्यसमितिका अध्यक्ष गोल्यानले कार्यसमितिको आगामी दुई बर्षमा गरिने विषयबारे जानकारी गराउँदै संस्थालाई राष्ट्रकै अभिन्न अंगकोरुपमा स्थापित गरी समग्र आर्थिक विकासमा टेवा पु¥याउने सहयोगी संस्थाको बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

देशमा हजारौ साना तथा मझौला उद्यमीको विकास गरी स्वदेशमै आवश्यक रोजगारीका अवसर सिर्जना गर्न लागिपर्ने विषयमा जोड दिनुभयो । राष्ट्रको आर्थिक क्षेत्रसँग सम्बन्धित नीति नियम निर्माण गर्दा सिविफिन जस्ता निजी क्षेत्रका सरोकारवाला संस्थासँग सहकार्य गरी अगाडि बढ्न सक्यो भने अपेक्षित आर्थिक विकास प्राप्त गर्न सकिने धारणा व्यक्त गर्नुभयो ।साधारण सभाको उद्घाटन गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बैंक तथा वित्तीय संस्था परिसंघले उठाएका विषयमा सरकारले उचित तरिकाले सम्बोधन गर्ने आश्वासन दिनुभयो ।

त्यस्तै नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, नेपाल उद्योग परिसंघका अध्यक्ष सतिष कुमार मोर र नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लले समग्र व्यवसायको उत्थानका लागि सिविफिनविको भूमिका विशेष रहेको उल्लेख गर्दै राष्ट्रको समग्र आर्थिक विकासमा हातेमालो गर्दै अगाडि बढ्न बैंक तथा वित्तीय संस्था परिसंघसँग सहकार्य गर्ने धारणा व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्