सन्दीपको अलराउन्ड प्रदर्शन



नेपाल समाचारपत्र, काठमाडौं
कप्तान सन्दीप लामिछानेले अलराउन्ड प्रदर्शन गर्दा काठमाडौं मेयर ११ ले मेयर कपमा विजयी शुरुआत गरेको छ । आइतबार भएको खेलमा ज्ञानेन्द्र मल्लको टिम बागमती प्रदेशलाई ९४ रनले हराएर काठमाडौं मेयरले जित हासिल गरेको हो । काठमाडौं मेयरले पहिले ब्याटिङ गरेर २ सय ४५ रनको लक्ष्य दिएको थियो । तर, मल्ल र पूर्व कप्तान पारस खड्का समेत रहेको टिम बागमती १ सय ५० रनमै समेटियो ।
काठमाडौं मेयरलाई जित दिलाउन सन्दीपले कप्तानी भूमिका निभाए । पहिले ब्याटिङमा विस्फोटक ब्याटिङ गर्दै ४२ रनको योगदान दिए पछि उनले बलिङमा ३ विकेट लिएर अलराउन्ड प्रदर्शन गरेका थिए ।
उता बागमतीका लागि पृथु बास्कोटाले शानदार खेल देखाए पनि हारबाट बचाउन सकेनन् । पहिलो खेलमा पुलिससँग हारेको बागमतीको यो लगातार दोस्रो हार थियो । ३ विकेटको पतनपछि क्रिजमा आएका पृथुले सर्वाधिक ६० रन जोडेका थिए ।
पृथु क्रिजमा रहुन्जेल बागमतीको जितको झिनो आस रहेको थियो । पारस तेस्रो विकेटको रुपमा आउट भएपछि पाँचौं नम्बरमा पृथु क्रिजमा आएका थिए । उनी क्रिजमा आउँदा टिमको स्कोर ५१ थियो । तर, अर्को इन्डबाट लगातार विकेट गुमेको अवस्थामा उनले पनि अन्ततः आत्मसमर्पण गरे । उनी आठौं विकेटको रूपमा आउट भएका थिए ।
पृथुलाई अनिल खरेलले बोल्ड गरेका थिए । त्यतिबेला बागमतीको स्कोर १ सय ३९ थियो । यसपछि ११ रन थपिँदा बागमती अलआउट भएको थियो । कप्तान सन्दीपले ९ ओभरमा ४० रन खर्चेर ३ विकेट लिए । विपिन खत्री र अनिलले २÷२ विकेट लिए भने कृष्ण कार्कीले १ विकेट हासिल गरेका थिए ।
यसअघि, मूलपानी क्रिकेट मैदानमा काठमाडौं मेयरले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ४४ रन बनाएको थियो । टिमका लागि सौरभ खनालले सर्वाधिक ४९ रन जोडे भने सन्दीपले ४२ रनको योगदान दिएका थिए । २० बलको सामना गरेका सन्दीपले ६ छक्का प्रहार गरेका थिए । तल्लोक्रमका ब्याटसम्यान विपिनले ३० बलमा ३२ रन बनाए । काठमाडौं मेयरतर्फ तीव्र गतिका बलर नन्दन यादवले १० ओभरमा १ मेडन सहित ४१ रन खर्चेर ४ विकेट लिए । रामनरेश गिरी र अरियो पौडेलले २–२ विकेट लिए । दीपेश श्रेष्ठले १ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्