घोडा दौडमै घोटाला



राजविन थापा ‘रामु’, टोकियो

जापानमा घोडालाई तालिम दिने केन्द्रका करिब १ सय ६३ जना कर्मचारीले कोरोना भाइरसबाट प्रभावित कम्पनीहरुलाई सरकारले दिएको वित्तीय टेवा अनुचित तवरले लिएको पाइएको छ । जापान रेसिङ एसोसिएसन (जेआरए)ले शनिबार यस्तो बताएको हो ।

पश्चिम जापानको शिगा प्रिफेक्चरको रिट्टो शहर र पश्चिम जापानस्थित मिहो गाउँमा रहेका तालिम केन्द्रहरुका १ सय ६५ प्रशिक्षक, सहायक प्रशिक्षक, गू्रमर, जकी र अन्य कर्मचारीले केन्द्र सरकारले साना तथा मझौला व्यवसायहरुलाई उपलब्ध गराएको सहुलियत कार्यक्रमबाट रकम लिएको जेआरएले बताएको छ ।यीमध्ये १ सय ६३ जनाले रकम लिनु अनुचित रहेको ठानिएको छ । यीमध्ये ४९ कर्मचारीले रकम फिर्ता गरिसकेका छन् । १ सय १४ जनाले पनि फिर्ता गर्ने अनुमान गरिएको छ । बाँकी दुई जनाले भने आफूले घोडादौडसँग असम्बन्धित खानपिन व्यवसायका लागि लिएको बताएका छन् ।

यस मामिलाले जेआरएप्रतिको विश्वास प्रभावित भएको भन्दै जेआरएका अध्यक्ष तथा सीईओ मासायुकी गोतोले माफीसमेत माग्नुभएको छ । कोरोना भाइरसको महामारीबीच आम्दानी घटेकाले सहायक प्रशिक्षक, गु्रमर र अरुले सो सहुलियत लिएको जेआरएको भनाइ छ । तर जेआरएले महामारीबीच दर्शकको उपस्थिति र अनुपस्थितिबिनै पनि घोडा दौडको आयोजना गरिरहेको छ ।सन् २०२० मा यसले इतिहासमै सबैभन्दा धेरै दौडको आयोजना गरेको थियो । यसको बिक्री पनि अघिल्लो वर्षको तुलनामा साढ ३ प्रतिशतले बढेर २९ खर्ब ८० अर्ब येन (२७ अर्ब ५३ करोड डलर) मा पुगेको थियो । त्यसैले कर्मचारीहरुको भुक्तानी र सेवा सुविधामा कमी आएको थिएन ।

प्रतिक्रिया दिनुहोस्