रमणीय धार्मिक स्थल सूर्यविनायक



भक्तपुरको सूर्यविनायक भगवान् गणेशको एक प्रसिद्ध मन्दिर हो । यो काठमाडौं उपत्यकामा रहेका प्रमुख चार गणेशस्थानमध्ये एक हो । यो क्षेत्र धार्मिक एवं ऐतिहासिक दृष्टिकोणबाट अति महत्वपूर्ण छ । यो मन्दिर लिच्छवि कालमा शिखर शैलीमा निर्माण भएको हो । काठमाडौँ, पाटन, बनेपा, भक्तपुर जिल्लाका भक्तजनहरू हरेक मंगलबार र माघ महिनामा ठूलो घुइँचोका साथ यस गणेश मन्दिरको दशनार्थ आउने गरेको पाइन्छ । सूर्यविनायकको पूजाबाट भाग्य निर्माण हुने र सद्बुद्धि आउने आमधारणा रहेको छ । हरियाली रमणीय डाँडा रहेको कारणले यो क्षेत्र पर्यटकीय एवं वनभोज स्थलको रूपमा पनि प्रख्यात छ ।

सूर्यविनायकको जंगलमा ९९ प्रजातिका चराचुरुंगी पाइने हुनाले यो स्थलले चरा अवलोकनको लागि पनि क्रमशः प्रसिद्धि पाउँदै आएको छ । काठमाडौँं उपत्यकामा चार विनायकहरू छन् । यी मध्ये एक हो सूर्यविनायक । यो मन्दिर अरनिको राजमार्गको सूर्यविनायक चोकबाट करिब २ किलोमिटर दक्षिणमा छ ।मन्दिरको द्वारअगाडिको अग्लो सिँढी चढेपछि मूल मन्दिर भएको स्थानमा पुगिन्छ । पूर्वतिर फर्केर रहेको मन्दिरअगाडि फराकिलो ढुंगा छापिएको खालि भाग छ, जहाँ दर्शनार्थीहरू लाममा बस्छन् । मन्दिरको बायाँ भागमा रहेको सत्तलमा दैनिक भजनकीर्तन गरिन्छ । मन्दिरको दाहिने भागमा रहेको ढुंगेधारा सूर्यविनायकलाई जल चढाउने कार्यमा प्रयोग गरिन्छ । यो मन्दिरको अगाडि रहेको मुसाको स्तम्भ आकर्षक छ ।

इँटाद्वारा निर्मित सूर्यविनायकको मन्दिर शिखर शैलीमा निर्माण भएको छ । सेतो रंगको स्तम्भको गजुरबाट चारैतर्फ फर्किएका धातुका सर्पका कारण मन्दिर शोभायमान देखिन्छ । मन्दिरको दायाँ–बायाँ धातुका चन्द्र–सूर्य अंकित झन्डा छन् । सूर्यविनायक मन्दिरको निर्माण विक्रम संवत् १८९० को पौषशुक्ल सप्तमीमा पूरा भएको शिलालेखबाट प्रस्ट हुन्छ । मन्दिरअगाडि रहेका दुई सत्तलमा केही शुल्क तिरेर विवाह, बेलविवाह, व्रतबन्धजस्ता मांगलिक कार्य गर्न पाइन्छ । विवाह–व्रतबन्ध गर्नका लागि शुल्क तोकिएको भए पनि भक्तजनले इच्छाअनुसार दिने गरेका छन् ।

मन्दिरको गर्भभित्र शिलारूपी गणेशको मूर्ति छ । त्यही मूर्तिलाई भक्तजनहरू सूर्यविनायकका रूपमा पूजा गर्छन् । गणेशको मूर्तिलाई धातुकलाले उत्कृष्टरूपमा सिँगारिएको छ । मन्दिरको दाहिनेतिर विभिन्न देवी–देवताका मूर्ति छन् । दर्शनार्थीहरूलाई समेत घामपानी आदिबाट बचाउने गरी राखिएको पित्तले छानाको तल्लो भागमा विभिन्न बुट्टासँगै गणेशको आकर्षक मूर्ति छ । सूर्यविनायकबाट केही माथि डाँडामा माताको मन्दिर छ । बोली नफुटेका कतिपय शिशुलाई माताको दर्शन गराएपछि बोली फुट्छ भन्ने विश्वास छ ।
–प्रभा पन्त, भक्तपुर 

प्रतिक्रिया दिनुहोस्