नेपाली निर्माण कलाका प्रचारक अरनिको



अरनिको उपनाम बलबाहु, आनिक आदि (सन् १२४१–१३०६) प्रसिद्ध कलाकार तथा नेपालका राष्ट्रिय विभूति हुन् । पाटनमा जन्मेका यिनले राजा अभय मल्लको समयमा चीनमा गएर आफ्नो वास्तुकला देखाएका थिए । अरनिको प्यागोडा शैलीको मन्दिरहरु निर्माण गर्ने दक्ष कलाकार हुन् ।

अरनिकोको जन्म सन् १२४४ मा पिता लाखाँना र माता सुमाखचीका सन्तानको रूपमा पाटन शहरमा भएको थियो । यिनले नेपालमा चयाथा नामकी विवाहित श्रीमतीलाई छोडेर चीन गएका थिए । चीनमा यिनले ९ वटा औपचारिक विवाह गरेका थिए, जसमध्ये केही चीनका रजौटाका छोरीहरू पनि थिए । अरू ल्याइते श्रीमतीहरू पनि थिए ।चीनका तत्कालीन प्रभावशाली सम्राट कुब्ला खाँका राजगुरू पाहसपाले अरनिकोको नेतृत्वमा ८० जना नेपाली शिल्पीहरूलाई चीन पु¥याएका थिए । यिनैले अरनिकोलाई सम्राट कुब्ला खाँसँग भेट गराइदिएका थिए । अरनिकोले निर्माण गरेको स्वेतचैत्य चीनको बेइजिङमा अहिले पनि पर्यटकको आकर्षणको रूपमा रहेको छ ।

युरोपतिर औद्योगिक क्रान्ति हुनुभन्दा अगावै आजभन्दा करिब ७ सय वर्षअगाडि नेपालका प्राचीन धातुकर्मी र मूर्तिकारहरूले वास्तुकला र मूर्ति निर्माणमा अनेकौँ रासायनिक विधिको उच्चतम प्राविधिक ज्ञान हासिल गरिसकेका थिए भन्ने कुराको ज्वलन्त नमूना हो अरनिको । उनको वास्तविक नाम् बलबाहु भए पनि अरनिको नामले विश्वप्रसिद्ध भए । अरनिको कलाकार मात्रै थिएनन्, उनी मूर्तिकार र वैज्ञानिक पनि थिए ।वैज्ञानिक एवं मूर्तिकार अरनिकोले नेपाली वास्तुकला र नेपाली कलाकारको नेतृत्व गर्दै धातुकलालाई चीन र तिब्बतमा प्रसार गर्ने काम गरेका थिए ।

उनले तिब्बत र चीनमा सुनको जलप भएका अनेकौँ रंगले रंगिएका मूर्ति बनाउने, पुराना मूर्तिको जीर्णोद्धार गर्ने काममा अत्यन्त कुशलतापूर्वक हात हालेर सुन र पारोटको रासायनिक गुणको राम्रो ज्ञान भएको तथ्यलाई प्रमाणित गरेर गएको देखिन्छ । यिनले चीनमा प्यागोडा शैलीमा भव्य श्वेत प्यागोडाको निर्माण गरेका थिए । चीनमा उनलाई क्वान्ह्यु नाइफ र नासथुु उपाधि दिइएको थियो । चीनमा बादशाहले उनलाई साङ्न भन्ने दर्जा पनि दिएका थिए ।उनले आफ्नो जीवनकालमा तामा, पित्तल, जस्ता आदि धातुबाट मिश्रित धातु बनाउने, ती धातु मिश्रित हुँदा हुने गुण र मूर्ति ढलान गर्ने उच्चकोटीको ज्ञान हासिल गरी त्यसलाई व्यवहारमा प्रयोग गर्ने, मैनको मूर्ति बनाउँदा आवश्यक हुने पुरानो तालमान र मूर्ति लक्षणको पूर्णज्ञान लिई कार्य गर्ने गरेकाले नै उनलाई चित्रकला, मूर्तिकला र वास्तुकलाको विलक्षण सीप भएका वैज्ञानिक पनि भनिन्छ ।

ज्योतिष विज्ञानमा पनि निपुण अरनिकोले सन् १२१९ मा एउटा भ्रमण दर्शकयन्त्र (दिशा देखाउने यन्त्र, गाइरोस्कोप) बनाएर ज्योतिष गणितमा प्रयोग हुने यन्त्रसमेत निर्माण गरेका थिए । यसका साथै भूकम्प थाहा पाइने पुरानो यन्त्रको नमुनाको आधारमा त्यस्तै नयाँ यन्त्र पनि बनाएका थिए ।त्यस्तै अरनिको र उनका सहयोगीहरूले मूर्ति बनाउँदा शरीरका विभिन्न अंगको आवश्यक अनुपात (तालमान) र अरू कलाकारितासम्बन्धी विवेचना गरिएको कलासम्बन्धी किताब पनि लेखेका थिए । उनको जन्म संभवतः पाटनमा सन् १२०० सयको तेस्रो या चौथो दशकतिर भएको अनुमान छ । उनको मृत्यु सन् १३०६ मा पहिलो महिनामा पेकिङमा भएको थियो ।
 मीनेन्द्र शाक्य, 

प्रतिक्रिया दिनुहोस्