इजरायली सेना दाह्रीविरुद्ध लड्दै



जेरुसेलम, (एजेन्सी) ।

इजरायली सेनाले सेनामा रहेको एक कडा कानुनविरुद्ध पहिलोपटक अनौठो खालको अभियान चलाएका छन् । तिनीहरूले सेनामा दाह्री पाल्न नपाइने कडा नियमविरुद्ध आवाज उठाएका हुन् । ‘सबैलाई दाह्रीबाट मुक्त राखौं’ भन्ने नारासहितको अभियानमा सरिक सेनाले अठारै वर्षको उमेरदेखि सैनिक सेवामा प्रवेश गर्दा दाह्री पाल्नै नहुने नियमको कारण तिनीहरूको मनोबल घट्ने गरेको दाबी गरेका छन् ।

यद्यपि, इजरायली प्रतिरक्षा फौज (आइडिएफ) ले केही जगेडा सेना तथा धार्मिक कारण बोकेका केही सेनालाई भने दाह्री पाल्ने अनुमति दिने गरेको छ । सत्रजना सैनिकले गत जनवरीमा दाह्री नकाट्न अनुरोध वा अनुमति माग्ने जो कोही सैनिकलाई दाह्री पाल्ने अधिकार दिइनुपर्ने अपिलसहित सर्वोच्च अदालतमा याचिका पत्र दायर गरेका थिए ।जगेडा सेनाका टैंक क्याप्टेन २९ वर्षीय बार पिन्टोले अर्का दाह्रीप्रेमी सहकर्मी गिलाद लेभीसँग मिलेर ‘दाह्री पाल्ने अधिकार’ प्राप्तिका लागि लडिने कानुनी लडाइँको खर्च जुटाउन करिव १ हजार ६ सय जना सैनिकबाट २६ हजार १ सय ५० पाउन्ड संकलन गरेका छन् ।

पिन्टो भन्छन्, ‘हामी सैनिक पेसालाई माया गर्छौं, इजरायललाई माया गर्छौं र हामीलाई लाग्छ सेनाले आफ्नो सैनिकहरूलाई जबर्जस्ती दाह्री खौरन लगाएर समय र साधन खेर फाल्नु हुँदैन । आइडिएफले भने दाह्रीजुँगा सफाचट राख्नाले अनुशासन बढ्ने तथा यदि उपयुक्त र सही धार्मिक कारण पेस गरेको खण्डमा दाह्री पाल्ने अनुमति दिने बताउने गरेको छ । तर, हजारौं हाम्रा साथीहरू यो नियमप्रति असन्तुष्ट छन् ।’

इजरायलमा अठार वर्षको उमेरमा सैनिक तालिम लिनु अनिवार्य छ । पुरुषले झन्डै तीन र महिलाले दुई वर्ष सैनिक सेवा गर्नु अनिवार्य छ । तर, अचेल मानसिक अस्वस्थता जस्ता अनेक कारण देखाएर सैनिक तालिम नलिने युवायुवती संख्या बढिरहेको छ । तेल अभिवमा एउटा बारसमेत सञ्चालन गर्र्दै आएका पिन्टोले हुन त सन् २०१५ मै आइडिएफले यो नियम हटाउने वचन दिएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्