पूर्व एमालेको नेपाल समूह संकटमा



काठमाडौं, (नेस) ।

सर्वोच्च अदालतले नेकपाको आधिकारिकता ऋषि कट्टेललाई दिएसँगै पूर्वएमाले र पूर्वमाओवादी केन्द्र मिलेर बनेको नेकपा पनि खारेज भएको छ । सर्वोच्च अदालतको फैसलाअनुसार अब एमाले र माओवादी केन्द्र अलग–अगल पार्टी भएका छन् ।

प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमसँग नेकपा दुई समूहमा विभाजित भएको थियो । दुवै समुहले निर्वाचन आयोगमा आधिकारिकताको दाबी गरिरहेको बेला सर्वोच्च अदालतले नेकपा कट्टेलले पाउने फैसला गरेसँगै नेकपामा तरंग पैदा भएको छ । सर्वोच्चको फैसलालाई तत्कालीन दल नेकपा एमालेले स्वागत गरेको छ भने नेकपा माओवादी केन्द्रले कानुनी उपचार खोज्न परामर्श अगाडि बढाएको छ । सर्वोच्च अदालतले तत्कालीन दल नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई साविककै अवस्थामा फर्काएपछि सबैभन्दा बढी नैतिक संकटमा माधवकुमार नेपाल, झलनाथ खनाल समूह परेको छ ।ओलीसँग रुष्ट हुँदै प्रचण्डलाई साथ दिँदै आएका पूर्वएमाले नेताहरुको राजनीतिक भविष्य संकटमा परेको छ । सर्वोच्चको फसैलाप्रति टिप्पणी गर्दै प्रचण्ड नेपाल समूहले जबरजस्ती गरे राम्रने नहुने चेतावनी दिएको छ । सिंहदरबारमा कानुन व्यवसायीसँग गरेको छलफलपछि पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वोच्चको फैसला बढी राजनीतिक भएको प्रक्रिया दिनुभयो ।

‘सर्वोच्चको फैसला बढी राजनीतिक प्रवृत्तिको भयो भन्ने छ । त्यसको आधारमा भोलि स्थायी कमिटीको बैठक बसेर आवश्यक निर्णय गर्छौं । हामीले यस्तो अपेक्षा गरेका थिएनौं । जबरजस्ती जोेड्न खोजियो भने राम्रो हुँदैन।’ –उहाँले भन्नुभयो ।त्यसैगरी परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सर्वोच्च अदालतको फैसलाका विषयमा पार्टीभित्र छलफल गरेर निष्कर्षमा पुगिने बताउनुभयो । आइतबार प्रतिनिधिसभा बैठकबाट बाहिरिने क्रममा मन्त्री ज्ञवालीले सर्वोच्च अदालतले २०७५ जेठ ३ गतेअघिकै पार्टीलाई मान्यता दिएको बताउनुभयो ।सर्वोच्चले पार्टी एकता गर्ने हो भने राजनीतिक दलसम्बन्धी ऐनको प्रक्रिया पूरा गरेर आउनु भनेकोले त्यसका लागि समेत छलफल गर्ने उहाँले बताउनुभयो । सर्वोच्च अदालतको नेकपाको एकीकरण खारेजीको निर्णयसँग संसद्मा चारवटा दल अस्तित्वमा आएका छन् ।
सर्वोच्च अदालतले नेकपाको नामसम्बन्धी मुद्दामा नेकपाको एकीकरण खारेज गर्दै पूर्वएमाले र पूर्वमाओवादी केन्द्र ब्युँताइदिएको हो । योसँगै संसद्मा अब चारवटा दल नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी अस्तित्वमा रहने भएका छन्।

प्रतिनिधि सभामा पूर्वएमालेको १ सय २१ सिट रहेको थियो प्रत्यक्षतर्फ उसले ८० सिट जितेको थियो भने समानुपातिकतर्फ ४१ सिट जितेको थियो। पूर्वएमाले सांसद सानु शिवाको निधन भएकाले पूर्वएमालेको अहिले संसद्मा १ सय २० सिट छ । त्यसैगरी नेपाली कांग्रेसले ६३ सिट जितेको थियो। उसले प्रत्यक्षमा २३ र समानुपातिकमा ४० सिट जितेको थियो । कांग्रेसका सांसद विजयकुमार गच्छदार भ्रष्टाचार मुद्दामा निलम्बित छन् भने अर्का सांसद मोहम्मद अफताफ आलम जेलमा रहेका छन् । त्यसैगरी नेकपा माओवादी केन्द्रले निर्वाचनमा ५३ सिट जितेको थियो । प्रत्यक्षमा ३६ र समानुपातिकमा १७ सिट रहेको छ । संसद्मा हाल जनता समाजवादी पार्टीको एकीकरणपछि अहिले ३४ सांसद रहेका छन् ।

दुई पार्टी अगलअलग हुने फैसला भएसँगै अब नयाँ सरकार गठनको प्रक्रियासमेत अगाडि बढ्ने भएको छ । पहिलो, एमाले (१२१) र कांग्रेस (६३) मिलेर प्रतिनिधि सभामा बहुमत (१३८) पुग्छ। दोस्रो, एमाले र जनता समाजवादी (३४) मिलेर पनि बहुमत पुग्ने अवस्था रहेको छ । त्यसैगरी तेस्रोमा, एमाले र माओवादी केन्द्र (५३) मिलेर पनि बहुमत हुने अवस्था रहेको छ भने चौथो, कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी मिलेर पनि सरकार बन्ने सक्ने अवस्था रहेको छ ।

प्रतिक्रिया दिनुहोस्