नक्कली लालपुर्जा बनाउने नौ पक्राउ



काठमाडौं, (नेस) ।

मालपोत कार्यालय कलंकीका कर्मचारीको मिलेमतोमा नक्कली लालपुर्जा बनाएर वितरण गरेको अभियोगमा प्रहरीले ९ जनालाई पक्राउ गरेको छ ।हाल बेल्जियम बस्दै आएकी मीना खड्काको नाममा रहेको थानकोटको २० आना जग्गा बिक्री गर्ने गिरोहलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ ।

उनीहरुले अर्काको नाममा रहेको जग्गाको नक्कली कागजात बनाएर बेचबिखन गरेको देखिएको प्रहरीले बताएको छ ।खड्काको नामको नक्कली नागरिकता र नक्कली जग्गाधनी पुर्जा बनाएर उक्त कारोबार गरेको भन्ने थाहा पाएपछि खड्काले प्रहरीमा उजुरी गरेकी थिइन । भूमाफियाहरुले वास्तविक विवरण खड्काको र फोटो लक्ष्मी घतानी नाम गरेको महिलाको टाँस गरी किनबेच गरेको पाइएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रमेश बस्नेतले जानकारी दिनुभयो ।

उक्त जग्गा भक्तपुरको ठिमी बस्ने कृष्णगोपाल श्रेष्ठ र कृष्णभक्त माक श्रेष्ठलाई ती भूमाफियाले ७२ लाखमा बेचेका थिए भने सोही जग्गा कुमार दाहाललाई दिने भन्दै सो समूहले ३५ लाख लिएर जग्गा पास नगरिदिएपछि उक्त रहस्य बाहिर आएको एसपी दाहालले जानकारी दिनुभयो । उक्त कीर्ते काण्डमा संलग्न रहेका मालपोत कार्यालय कलंकीका शाखा अधिकृत दीपक दाहाल, नासु नारायण श्रेष्ठ, खरिदार दीपा पंगेनीलाई प्रहरीले पक्राउ गरेको थियो ।

प्रहरीले विजयकुमार खड्का, बालप्रसाद भट्ट, पुष्यप्रसाद काफ्ले, इन्द्रबहादुर घले, बालकृष्ण बुढाथोकी, लक्ष्मी घतानी, विजयप्रकाश सुनुवार, कृष्णबहादुर दर्लामी र कृष्णबहादुर कटवाललाई पक्राउ गरी अनुसन्धान अगाडि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्