अक्षयकोष स्थापनासँगै दातालाई सम्मान



न्युज अफ नेपाल, कास्की ।

ढिकुरपोखरी समाज पोखराले अक्षयक़ोष स्थापनासँगै दातालाई सम्मान गरेको छ । शनिवार समाजले एक कार्यक्रमको आयोजना गरी करिव २७ लाख ५० हज़ार बराबरको अक्षयक़ोष घोषणा सँगसगै १ सय ९२ जना अक्षयक़ोषदातालाई सम्मान गरेको हो।

संस्थाले विभिन्न कार्यक्रमहरू संचालन गर्दा विभिन्न खाले आर्थिक समस्या झेल्नु पर्ने हुँदा संस्थाको दिगो र स्थिर आर्थिक श्रोतको निर्माणका लागि अक्षयक़ोष स्थापना गर्ने अवधारणालाई अघि बढ़ाईएको र सबैको सद्भावबाट कोष स्थापनाले आकार लिएको समाजका अध्यक्ष बाबुराम भण्डारीले बताउनु भयो।

सहयोगदाताहरु प्रमुख संरक्षक, विशिष्ट संरक्षक सदस्य, संरक्षक सदस्य, विशिष्ट सदस्य, सम्मानित सदस्य, सदस्य गरी ६ प्रकारका रहेका थिए । उनीहरूलाई कार्यक्रमका प्रमुख अतिथी भागवत भाष्कर प।कमलनयन गौतम, अन्नपूर्ण गाउँपालिका अध्यक्ष युवराज कुँवर, समाजका अध्यक्ष बाबुराम भण्डारी लगाएतले सम्मान गर्नु भएको समाजका सचिव लक्ष्मी अधिकारीले जानकारी दिनुभयो ।

प्रमुख अतिथि पण्डित गौतमले सामाजिक गतिविधि यति शक्तिशाली हुन्छ जसले हाम्रो समाजलाई सकारात्मक वा नकारात्मक कुनै पनि दिशा तर्फ मोड्ने क्षमता राख्दछ । समाजले सकारात्मक गतिविधिलाई प्राथमिकता दिर्दै आएको उल्लेख गर्दै त्यसलाई निरन्तरता दिन आग्रह गर्नुभयो । उहाँले अक्षयकोषको महत्व माथि प्रकाश पार्दै हिन्दु धर्म, शान्ति र दानका बारेमा प्रवचन समेत दिनुभएको थियो।

कार्यक्रमका विशिष्ट अतिथि अन्नपूर्ण गाउँपालिका कास्कीका अध्यक्ष युवराज कुँवरले समाजले गरेका विविध गतिविधिको प्रशंसा गर्दै ढिकुरपोखरीको पहिचान निर्माणमा समाजले भूमिका खेल्नुपर्ने बताउँनु भयो ।

अक्षयकोषका प्रमुख संरक्षक कुलबहादुर गुरुङ कुलुले सबैको योगदानबाट कोष स्थापना गर्न सफल भएको औँल्याउँदै त्यसलाई बढाउँदै लैजानुपर्ने धारणा राख्नु भएको थियो । समाजका अध्यक्ष बाबुराम भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष रामचन्द्र पौडेल, मादी गाउँपालिकाका प्रशासकीय अधिकृत नारायणप्रसाद सापकोटा, अन्नपूर्ण सहकारीका अध्यक्ष इन्द्रप्रसाद पौडेल, पुर्व अध्यक्ष विष्णुप्रसाद अधिकारी, सल्लाहकार गायत्री पराजुली, उपाध्यक्ष सोमनाथ पौडेल, सचिव लक्ष्मी अधिकारी, दिगो महिला सहकारीकी उपाध्यक्ष निर्मला अधिकारी लगायतले एकतामा नै शक्ति हुने औँल्याउँदै भाइचारा विकासमा समाजको योगदान अविष्मरणीय रहेको चर्चा गरेका थिए ।

त्यस अवसरमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कास्की अध्यक्ष टेक क्षेत्री, लोकगायिकाहरु अम्बिका भण्डारी, कल्पना आले, सरिता अधिकारीले प्रस्तुति राखेका थिए भने केफ माध्यमिक विद्यालयका विद्यार्थीले नृत्य देखाएका थिए।

प्रतिक्रिया दिनुहोस्