पितृसत्तात्मक संरचना विरुद्ध कलम चलाउन सञ्चारकर्मीलाई आग्रह

चार जना महिला सम्मानित



न्युज अफ नेपाल, काठमाडौं ।

नेपाली समाजमा रहेको पितृसत्तात्मक सोच र संस्कार नै महिला विरुद्ध हुने हिंसाको जड रहेको बताउँदै त्यस विरुद्ध पत्रकारहरुले कलम चलाउन सम्बद्ध व्यक्तिहरुले आग्रह गरेका छन् ।

१ सय ११ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको पूर्व सन्ध्यामा नेवाः पत्रकार राष्ट्रिय दबूको महिला विभागले राजधानीमा आयोजना गरेको महिला हिंसा न्यूनीकरणमा पत्रकारिताको भूमिका विषयक अन्र्तक्रिया तथा सम्मान कार्यक्रमका वक्ताहरुले सो आग्रह गरेका हुन् ।
कार्यक्रमको उद्घाटन गर्दै राष्ट्रिय महिला आयोगका अध्यक्ष कमला पराजुलीले पितृसत्तात्मक सोच र संस्कार पुरुषहरुमा मात्र नभई महिलाहरुमा पनि रहेको उल्लेख गर्दै त्यसले नै महिलाहरु निरन्तर उत्पीडनमा परिरहेको र हिंसाको शिकार हुने गरेको धारणा राख्नुभयो । महिला विरुद्ध हुने सामाजिक विभेद र विभेदलाई मलजल गर्ने संस्कार, राज्य संयन्त्र, सामाजिक र आर्थिक अवस्थालाई बदल्नका लागि पत्रकारहरुले कलम चलाउनुपर्ने पनि अध्यक्ष पराजुलीको जोड रहेको छ ।

सो अवसरमा मानव अधिकारका लागि महिला तथा एकल महिला समूहका संस्थापक एवम् राष्ट्रिय महिला आयोगका सदस्य लिली थापाले महिलामाथि हुने विभेद, हिसाको समाचार सरसर्ती मात्र नभई त्यसको बहुआयामिक कारण र समाधानका लागि सचेत पहलकदमी उठाउन घचघच्याउने गरी समाचार सामग्री पस्किनुपर्नेमा जोड दिनुभयो । सो अवसरमा सिविन नेपालका कार्यकारी निर्देशक सुम्निमा तुलाधरले महिला र बालिकाहरूले भोगिरहेका हिंसाका घटना सम्बन्धमा आफ्नो विषय प्रस्तुत गर्नुभयो ।

समारोहमा पत्रकार राष्ट्रिय दबूका केन्द्रीय अध्यक्ष सुरजवीर बज्राचार्यले समाजमा हुने र भएका सबै खालका विभेदहरुको अन्त्यका लागि पत्रकारिताको भूमिकालाई सशक्त र प्रभावकारी बनाउन पत्रकारिता क्षेत्रमा समावेशी र समाचारमा लैङगिक संवेदनशीलता हुनुपर्ने विषयमा पैरवीसंगै विभिन्न कार्यक्रम गर्दै आएको बताउनुभयो ।

सो अवसरमा महिला विभागका संयोजक एवं पत्रकार राष्ट्रिय दबूका उपाध्यक्ष रचना श्रेष्ठले महिलामाथि हुने हिंसा र विभेद महिला पत्रकारहरुको मात्र सरोकारको विषय नभई समाजका सबै तह र तप्का मुख्य चासोको विषय हुनुपर्ने बताउनुभयो । ‘महिलामाथि अन्याय र दुःखी हुँदा समाजका अरु पक्ष कसरी खुशी रहन सक्दछ । अतः विभेदका विरुद्ध सबै मिलेर अघि बढ्नुपर्दछ ।’ संयोजक श्रेष्ठले भन्नुभयो ।
कार्यक्रममा दबूका केन्द्रीय सहसचिव प्रेरणा शाक्य, कार्यकारिणी सदस्य सुनीता महर्जन, मीना बज्राचार्य, अनिता महर्जन र रूवि श्रेष्ठ लगायतले हिंसा विरुद्ध समाचारका सम्प्रेषणका सवालमा आ आफ्नो अनुभव सुनाउनुभएको थियो ।

चार जना महिला सम्मानित

सो अवसरमा एक जना समाजसेवीसहित तीन जना महिला पत्रकारहरुलाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा पत्रकारहरुमा मीरा (उषा) लोहनी, लक्ष्मी पुन र सम्झना महर्जन र समाजसेवी गीता गुरूङ्ग रहनुभएको छ । उहाँहरुलाई आयोगका सदस्य थापाले दोसल्ला ओढाई र अध्यक्ष पराजुलीले सम्मानपत्र प्रदान गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्