पाल्पामा स्ट्रावेरी खेती सफल



नेपाल समाचारपत्र, पाल्पा ।

स्ट्रावेरी खेती पाल्पामा सफल भएको छ । यसै आर्थिक वर्षबाट व्यावसायिक खेतीको शुरुआत गरिएको यो खेतीको उत्पादन राम्रो भएसँगै सफल मानिएको हो ।
स्थानीय रुपमा भुइँ काफल वा बूढी काफलका नाममा चिनिने स्ट्रावेरीको जिल्लाका विभिन्न स्थानीय तहमा व्यावसायिक खेती गर्न थालिएको छ । कृषि ज्ञान केन्द्रका अनुसार व्यावसायकि खेती जिल्लाको माथागढी गाउँपालिकाको ओलेस, रिब्दीकोट गाउँपालिकाको भैरवस्थान र रम्भा गाउँपालिकाको हुमीनमा शुरु भएको थियो ।

कृषि ज्ञान केन्द्र पाल्पाको ४ लाख २५ हजार बजेटबाट जिल्लाको माथागढीको ओलेसमा, रिब्दीकोट गाउँपालिकाको भैरवस्थानमा र रम्भा गाउँपालिकाको हुमीनमा भुइँकाफल खेती व्यावसायिकरूपमा थालनी भएको कार्यालय प्रमुख शिवप्रसाद अर्यालले बताउनुभयो ।केन्द्रले कृषकलाई विरुवा उपलब्ध गराएको थियो । यस क्षेत्रका कृषकले स्ट्रावेरीको पहिलो र दोस्रो उत्पादन लिइसकेका छन् । प्रमुख अर्यालका अनुसार यसबाट राम्रै उत्पादन भएकाले कृषकसमेत उत्साहित भएका छन् । यसले लगाएको दुई महिनादेखि नै फल दिन थाल्ने र चार महिनासम्म रहने कृषि प्राविधिक बताउँछन् ।

कृषक अम्बिका गौतमले आफ्नै बारीमा यसको फल लाग्न थालेपछि खुशी लागेको बताउनुभयो । अर्की कृषक पविता थापाले पनि यो फल फोटोमा मात्र देखेकोमा खेती गरेपछि उत्पादन पनि राम्रै भएको उनी बताउनुभयो । रम्भा गाउँपालिका हुमिनका महिला अगुवा कृषक कल्पना गहतराजले नयाँ खेती र नयाँ फल भएकाले यसको माग अत्याधिक हुने गरेको जानकारी दिँदै एकपटक लगाएपछि त्यही बोटबाट बिरुवा बनाउन सकिने बहुवर्षीय फल भएकाले पनि निकै सजिलो भएको अनुभव सुनाउनुभयो । जिल्लामा उत्पादित प्रतिकिलो ५ सयदेखि ६ सय रुपियाँसम्म बजारमा बिक्री हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्