हल्लै हल्लाले लगानीकर्ताको साढे ६५ अर्ब गुम्यो



विष्णु नेपाली, काठमाडौं ।

कुनै खास कारण नभए पनि लगानीकर्ता हल्लाको पछाडि दौड्दा यो साता शेयर बजारमा निक्कै ठूलो उतारचढाव भयो । बजारमा बिक्री चाप बढेकाले लगानीकर्ताको शेयर मूल्यमा पनि गिरावट हुन पुगेको छ । साताको कुल पाँच कारोबार दिनमध्ये दुई दिन मात्रै नेपाल स्टक एक्सचेन्ज (नेप्से) बढे पनि तीन दिन घटेका थिए । आइतबार ७९ दशमलव ७० अंकले घटेको नेप्से सोमबार ४० दशमलव ६४ अंकले बढेको थियो । त्यस्तै मंगलबार ५९ दशमलव ७० र बुधबार ३९ दशमलव ३३ अंकले घटे पनि साताको अन्तिम कारोबार दिन बिहीबार भने ९० दशमलव ६७ अंकले बढेर बन्द भएको छ ।

अघिल्लो साता २५५४ दशमलव १३ बिन्दुमा रहेको नेप्से परिसूचक यो साता २५०६ दशमलव ६८ बिन्दुमा झरेको छ । नेप्सेमा आएको गिरावटसँगै लगानीकर्ताको सम्पत्तिमा पनि उल्लेख्य रूपले घटेको छ । यो साता नेप्सेमा सूचीकृत कम्पनीहरूको कुल बजार पुँजीकरण६५ अर्ब ७४ करोड ४० लाख रुपियाँको हाराहारीमा घटेको छ । अघिल्लो साता समग्र बजार पुँजीकरण ३५ खर्ब १९ अर्ब ४८ करोड ८० लाख रुपियाँ रहेकोमा यो साता ३४ खर्ब ५३ अर्ब ७४ करोड ३० लाख रुपियाँमा झरेको हो ।

यसैगरी यो साता कारोबारमा पनि घटेको छ । यो साता कुल ६ करोड ८९ लाख ७७ हजारभन्दा बढी कित्ता शेयर किनबेच भएको छ । यो अघिल्लो साताभन्दा २ करोड ७२ लाख ३९ हजार कित्ताले कम हो । साथै यो साता ३२ अर्ब ४८ करोड १ लाख रुपियाँमा शेयर कारोबार भएको छ । गत साता ३८ अर्ब ६० करोड २६ लाख रुपियाँभन्दा बढीको कारोबार भएको थियो । त्यस्तै यो साता नेपाल इन्फ्रास्ट्रक्चर बैंक, शिखर इन्स्योरेन्स, एसियन लाइफ इन्स्योरेन्स र नेपाल लाइफ इस्योरेन्सलगायतका कम्पनीको शेयर किनबेच उच्च भएको छ ।

प्रतिक्रिया दिनुहोस्