थानकोट डिपोको क्षमता विस्तार



नेपाल समाचारपत्र, काठमाडौं  ।

नेपाल आयल निगमले थानकोटस्थित बाग्मती प्रादेशिक कार्यालयको भौतिक, प्राविधिक तथा व्यवस्थापकीय सुधार गरी स्तरोन्नति गरेको छ । यससँगै निगमको बाग्मती प्रादेशिक कार्यालय रि–इन्जिनियरिङ परियोजनाको पहिलो चरण सम्पन्न भएको निगमले जनाएको छ ।शनिबार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले स्तरोन्नतिको उद्घाटन गर्नुभएको छ । निगमको उक्त डिपो २०५८ सालमा स्थापना भएको थियो ।

सो डिपोबाट राजधानी र आसपासका १० जिल्लाका १८० भन्दा बढी पेट्रोल पम्पमा इन्धन आपूर्ति हुँदै आएको छ । करिब १०६ रोपनी क्षेत्रफलमा फैलिएको सो डिपोमा डिजल आठ हजार ४ सय किलोलिटर, पेट्रोल ६ हजार ७० किलोलिटर, मट्टितेल ७६० किलोलिटर भण्डारण क्षमता छ । उक्त डिपोबाट दैनिक औसत ७ सय किलोलिटर पेट्रोल, ९ सय किलोलिटर डिजल र आठ किलोलिटर मट्टिटेल बिक्री वितरण हुँदै आएको निगमले जनाएको छ ।स्तरोन्नतिअन्तर्गत इन्धन भर्ने आधुनिक प्वाइन्टको क्षमता विस्तार तथा आधुनिकीकरण, ट्यांकर तथा ट्रक पार्किङ, अग्नि नियन्त्रण उपकरणको निर्माण तथा आधुनिकीकरण, डिपो सुरक्षाका लागि पर्खाललगायतका काम पूरा गर्न एक वर्ष लागेको निगम व्यवस्थापनले जनाएको छ ।

निगमका अनुसार ट्यांकरमा तेल भर्ने प्वाइन्टको संख्या दोब्बर बनाइएको छ । साथै डिपो आसपास क्षेत्रमा रहेको अव्यवस्थित पार्किङको समस्या समाधान भएको छ । अहिले २ सयभन्दा बढी ट्रक तथा ट्यांकर पार्किङ गर्न सकिन्छ । उद्घाटन कार्यक्रममा उद्योगमन्त्री लेखराज भट्टले निगमको व्यवस्थापकीय तथा प्राविधिक सुधारमा ध्यान दिन आग्रह गर्दै पेट्रोलियम पदार्थको भण्डारण क्षमता अभिवृद्धि गर्न सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले निगम र काठमाडौं विश्वविद्यालयबीच हाइड्रोजन इनर्जीको अध्ययनका लागि सहकार्य भएकोमा खुशी व्यक्त गर्दै सरकारका तर्फबाट सक्दो सहयोग हुने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
त्यस्तै निगम सञ्चालक समितिका अध्यक्ष एवम् वाणिज्य तथा आपूर्ति सचिव दिनेश भट्टराईले सरकार र जनताप्रतिको दायित्वलाई काँधमा राखेर सेवा प्रवाहलाई चुस्त बनाउन निगम पदाधिकारीलाई निर्देशन दिनुभयो ।

निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले निगम सुधारका योजना लागू भएको र अब छिट्टै त्यसको परिणाम देखिन थाल्ने बताउनुभयो । प्रविधिको प्रयोगबाट निगमलाई व्यवस्थित बनाउने प्रतिबद्धता व्यक्त गर्दै उहाँले अन्तर्राष्ट्रिय मान्यता प्राप्त कम्पनीका रूपमा विकसित गरिने पनि बताउनुभयो । रि–इन्जिनियरिङ परियोजनाको दोस्रो चरण छिट्टै शुरू हुने र त्यसले पनि चाँडै मूर्तरुप पाउने निगमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्