कोशी अस्पतालमा टोकन प्रणाली



विराटनगर, (नेस) ।

विरामीको चाप बढ्दै गएपछि विराटनगरस्थित कोशी अस्पतालमा टोकन प्रणाली सुरू भएको छ । उपचार गर्न आउने बिरामीले पूर्जी काट्न घण्टौं लाममा बस्नुपर्ने बाध्यता रहेका बेला अस्पतालले टोकन प्रणाली सुरू गरेको हो ।

सेवाग्राहीको सहजताका लागि अस्पतालको टिकट काउन्टरमा टोकन प्रणाली सुरू गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट चुमनलाल दासले जानकारी दिनुभयो । अस्पतालमा अहिले दैनिक १ एक हजारदेखि १ हजार ३ सय बिरामी आउने गरेका छन् । बिहीबारदेखि अस्पतालमा टोकन प्रणाली लागू गरिएको हो । टोकन प्रणाली सुरू भएपछि विरामीलाई लाममा बस्नुपर्ने समस्या हट्ने मेसु दासले बताउनुभयो । टोकन लिए अनुसार नै बिरामीले अस्पतालमा चिकित्सकसहित अन्य सेवा पाउनेछन् ।

कोरोना संक्रमणबाट बच्न र लाममा बस्नु पर्ने समस्याबाट मुक्त गराउने लक्ष्यका साथ टोकन प्रणाली लागू गरिएको अस्पतालको भनाइ छ । मेसु दासका अनुसार अर्काे चरणमा अस्पतालले मेडिसिन, बहिरङ ‘ओपीडी’मा टोकन प्रणाली लगाउने तयारी गरेको छ । मेडिसिन ओपिडीमा दैनिक ३ सयदेखि चार सयको हाराहरीमा बिरामी आउने भएकाले बिरामीलाई सेवा लिन हैरानी बेहोर्नु परेको छ । विशेषज्ञ सेवा प्रभावकारी भएपछि अस्पतालमा प्रदेश एकसहित प्रदेश २ को सप्तरी र सिरहाका बिरामीहरू समेत आउने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्