विद्यालयको भवन छ, छाना छैन



नेपाल समाचारपत्र, सल्यान  ।
११ महिनाअघि हावाले उडाएको सल्यानको एक निम्न माध्यमिक विद्यालयको छानो अझैसम्म नबन्दा बालबालिका खुला आकाशमुनि पढ्न बाध्य छन् । गएको वैशाखमा हावाहुरीले छाना उडाएपछि बनगाड कुपिण्डे नगरपालिका–११ मा रहेको भेरी निम्न माध्यमिक विद्यालयका विद्यार्थी खुला आकाशमुनि पढ्न बाध्य भएका हुन् ।

चर्किंदै गएको गर्मी र फागुन महिनाको हावाहुरीले बाहिरको सबै धूलो उडाएर भत्किएको भवनभित्र ल्याउने गर्छ । ‘छानो नहुँदा खुला आकाशमा बसेर पढ्दा छारोधूलोले गर्दा टाउको दुख्ने समस्याले हैरान पारेको छ’, विद्यार्थी तिलक बुढामगर भन्नुहुन्छ– ‘छाना उडाएको भवनमा बसेर पढ्दा भित्ता र काठ भत्किएर मरिने हो कि भन्ने त्रास पनि उत्तिकै छ ।’गत वैशाख २८ गते आएको हावाहुरीले विद्यालयको छाना उढाएको थियो । विद्यालय मर्मत गरिदिन नगरपालिकालाई बारम्बार आग्रह गरे पनि नगरपालिकाले वास्तै नगरेको विद्यालयका प्रधानाध्यापक हेमराज ओलीले बताउनुभयो । उहाँ भन्नुहुन्छ– ‘सर, हामी कहिलेसम्म छाना नभएको भवनमा बसेर पढ्ने ? भन्ने प्रश्न हरेक दिन विद्यार्थी गर्ने गरेका छन् ।’ २ सय ७५ जना अध्यनरत विद्यालयमा भवनको अभाव हुँदा विद्यार्थीहरु खुला चौर र छाना उडाएको भवनमै बसेर पढ्न बाध्य छन् । ‘खुला आकाशमुनि पढ्दा बालबालिकाहरु बिरामी हुने, पढ्न मन नगर्ने गरेका छन्’, प्रअ ओलीे भन्नुहुन्छ– ‘विद्यालयको आन्तरिक आम्दानीको स्रोत नभएको र स्थानीय सरकारलाई फाइल पठाउँदा पनि कुनै सुनुवाइ हुन सकेको छैन ।’

हावाहुरीले छाना उडाउनेवित्तिकै नगर सरकारलाई जानकारी गराउँदा नगर उपप्रमुख मञ्जु यरी, इन्जिनियर महेश देवकोटासहितको टोलीले अनुगमन गरी ८ लाख जतिको अनुमानित बजेटको मूल्यांकन गरे पनि कुनै ठाउँबाट बजेटको व्यवस्थापन हुन सकेको छैन । विद्यालय भवन मर्मतका लागि बजेट अभाव भएकालेअन्य शीर्षकबाट मर्मत गर्ने तयारी भई रहेको बन्गाड कुपिण्डे नरपालिकाका नगरप्रमुख गोविन्द पुनले बताउनुभयो ।अब शिक्षा क्षेत्रतर्फ छुट्याएको बजेटलाई कार्यपालिकाको बैठकमा लिएर अनुमोदन गराई केही दिनभित्र विद्यालयसँग सम्झौता गरी काम अगाडि बढाइने उहाँको कथन छ ।

प्रतिक्रिया दिनुहोस्