ज्येष्ठ नागरिक लक्षित कोरोनाविरुद्धको खोप अभियान आजबाट शुरु



भगवती तिमल्सिना, काठमाडौं  ।
कोरोनाविरुद्धको खोप लगाउनका लागि ६५ वर्षमाथिका १७ लाख ज्येष्ठ नागरिकहरु रहेको तथ्यांक सरकारसँग अध्यावधिक रहेको छ । यसमा कतिले खोप लगाउँछन् भन्ने यकिन नभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले बताउनुभयो ।कोरोनाविरुद्धको खोप समयमै पाउने नेपाल भाग्यमानी मुलुक बनेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता तथा स्वास्थ्य आपत्कालीन सेवाका संयोजक डा. समीरकुमार अधिकारीले बताउनुभयो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलको आयोजना तथा विश्व स्वास्थ्य संगठनको प्राविधिक सहयोगमा ‘सञ्चारकर्मीका लागि कोभिडविरुद्धको खोपको विज्ञान र नेपालमा खोप अभियान’ विषयक भर्चुअल अन्तक्र्रिया कार्यक्रममा उहाँले उक्त भनाइ राख्नुभएको हो ।

डा. अधिकारीले पहिलो चरणमा ४ लाख २९ हजार ७ सय ३ जनाले कोरोनाविरुद्धको खोप लगाएको बताउनुभयो । उहाँले पहिलो चरणमा भारत सरकारको सहयोगमा गत माघ ८ गते १० लाख डोज निःशुल्क प्राप्त भएको थियो । उक्त खोप पहिलो प्राथमिकतामा स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक, शव व्यवस्थापनमा खटिने सुरक्षाकर्मी, सरसफाइमा खटिने कर्मचारीलाई दिइएको थियो ।तोकिएका व्यक्तिहरुले खोप लगाउन पायक पर्ने स्थान, विविध कारणले गर्दा खोप बचेकाले पहिलो चरणको ‘क’ वर्गमा यूएन एजेन्सी, पत्रकार, दूतावासमा कार्यरत कर्मचारी र उहाँहरुको परिवारलाई लगाइएको र ‘ख’ वर्गमा जिल्लास्तरीय सञ्चारकर्मी, छुटपुटमा परेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र स्थानीय जनप्रतिनिधिलाई लगाएको बताउनुभयो ।डा. अधिकारीका अनुसार पहिलो चरणमा १ दशमलव ४ प्रतिशत अर्थात् तोकिएको लक्ष्यअनुरुप ८५ प्रतिशत सफलता हात प¥यो । खोप कार्यक्रममा यो महत्वपूर्ण उपलब्धि हो । विश्वमा अहिलेसम्म २७ करोडभन्दा बढी नागरिकले खोप लगाइसकेका छन् । नेपालमा पनि दोस्रो चरणको खोप ५५ वर्षमाथिका नागरिकलाई तोकिएको भए पनि ६५ वर्षमाथिका ज्येष्ठ नागरिकबाट शुरु गर्न लागिएको हो ।

हरेक दिन मानिसको काल गतिले पनि मृत्यु हुन्छ । खोप लगाएको व्यक्ति कालगतिले मृत्यु वरण गर्न पुग्यो भने खोपको कारणले मृत्यु भयो भन्ने अफवाह फैलन सक्ने चुनौती कायमै छन् । यस्तो अवस्थामा कोही कसैले पनि अफवाह फैलाउनुभन्दा पहिला घटनाको यथार्थता बुझेर मात्र सूचना सम्प्रेषण गर्न पनि उहाँले आग्रह गर्नुभयो । उहाँले यस्ता गलत सूचना बाहिर नजाओस् भन्नका लागि समन्वयको खाँचो रहेको औंल्याउनुभयो । उहाँले काम गर्नेलाई प्रोत्साहन हुने खालका सूचना सम्प्रेषण गर्नका लागि अनुरोध गर्नुभयो ।कोरोना संक्रमणको अवस्थालाई नियाल्दा विश्वका अमेरिका, ब्राजिल, भारतलगायतका मुलुकमा ११ करोडभन्दा बढी संक्रमित हुनुका साथै २५ लाखभन्दा बढीको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा ५० वर्षमाथिका धेरै रहेका छन् । खोप लगाउनुअघि र लगाइसकेपछि पनि माक्स लगाउने, स्यानिटाइजर लगाउने, हात राम्रोसँग धुने कार्यलाई निरन्तरता दिनुपर्ने विश्व स्वास्थ्य संगठन नेपालका नेसनल प्रफेसनल अफिसरले बताउनुभयो ।उहाँले विश्वमा ३ हजार वर्ष पहिलादेखि विफर थियो अहिले खोपकै कारण उन्मूलन भइसक्यो । पोलियो पनि उन्मूलनको संघारमा छ । सन् २०१४ देखि दक्षिण पूर्वी एसिया पोलियो फ्रि भइसक्यो । जाप्निज इन्सेफलाइटिस, दादुरा पनि खोपकै कारण ९५ प्रतिशत कम भइसक्यो ।

प्रतिक्रिया दिनुहोस्