अल्लो प्रवर्द्धनमा जोड दिन जरुरी



बहुवर्षीय पोथ्रा वर्गमा पर्ने यो वनस्पति ३ मिटरसम्म अग्लो हुने गर्दछ । यो वनस्पतिको जमिनमाथिको भाग मसिना र तिखा विषालु काँडाहरूले ढाकेको हुन्छ । काण्डको बोक्राबाट प्राप्त हुने रेसा नरम, बलियो र चम्किलो हुने भएकोले यसको रेसा धागो उत्पादनमा प्रयोग गरिन्छ । अल्लो धागोबाट जुत्तादेखि टोपीसम्मका विभिन्न कपडा, झोला आदि बनाइन्छ । नेपालका विभिन्न भूभागमा ठूलो सिस्नो, लेकाली सिस्नो, भांग्रे सिस्नो, पुवा जातका नामले चिनिने अल्लो बहुउपयोगी वनस्पति हो । अल्लोलाई विदेशीहरुले निलगिरी नेटलको नामले चिन्छन् । यो वनस्पतिको नरम मुना, पात, बोक्रा र जराका भागहरू निकै उपयोगी मानिन्छन् । यसको काण्डको बोक्रा कपडा, डोरी तथा विभिन्न घरायसी सामग्री निर्माणका लागि प्रयोग गरिन्छ ।

अल्लोको कलिला मुना सागको रूपमा तरकारी खान प्रयोग गरिन्छ । यो वनस्पतिको पात टाउको तथा शरीर दुखेको, ज्वरो, क्षयरोग र पिसाबको गडबडीको लागि अचुक औषधिको रुपमा लिने गरिन्छ । यस्तै यसको जराको रस मधुमेहका बिरामीका लागि अति नै उपयोगी मानिन्छ । यता तन्त्रमन्त्रधारीहरुले डमरु बनाउँदा पनि अल्लोको धागो प्रयोग गर्दछन् ।परम्परागतरुपमा जनजातिहरूले भाङ्ग्रा, नाम्ला, थैला आदि बनाउन मात्र प्रयोग हुने गरेको अल्लोको परिभाषा अहिले परिवर्तन भएको छ । जंगलमा पाइने अल्लो संकलन गरेर अहिले आधुनिक प्रयोगमा आउने धागोका साथै त्यसबाट विभिन्न किसिमका कपडा उत्पादन हुन थालेको छ । करिब १५ सयदेखि ३ हजार मिटरसम्मको उचाइका जंगलमा पाइने अल्लोको प्रयोग हिजोआज नेपालका कार्पेट उद्योगहरूले पनि गर्न थालेका छन् । अल्लोका कपडा जापान, बेल्जियम, चीनलगायतका देशमा निर्यातसमेत हुने गरेको छ ।कार्तिक महिनादेखि माघको तेस्रो हप्तासम्म अल्लोको लोक्ता संकलन गर्नु उपयुक्त मानिन्छ । यस वनस्पतिको काण्डको भित्री बोक्रा नै धागो उत्पादनमा प्रयोग गरिन्छ । स्थानीयस्तरमै विभिन्न प्रविधिको प्रयोग गरी अल्लोको रेसा निकाल्न सकिन्छ ।

रेसा उत्पादनका लागि संकलन गरिएका अल्लोका बोक्रालाई चार दिनसम्म पानीमा डुबाएर राख्न आवश्यक छ । पानीमा ढाडिएको अल्लोको लोक्तालाई कास्टिक सोडा वा खरानी राखेर उमालिन्छ । करिब दुई घण्टासम्म उमालिसकेपछि अल्लोको लोक्ता पूरै गल्छ । गलेको लोक्तालाई खोलामा लगेर सफा पानीमा पखालिन्छ । यसरी पखाल्दा रेसाहरू एकआपसमा छुटिन्छन् । यसरी प्राप्त भएको रेसालाई मकैको पीठो, ढुटो वा कमेरोसँग मिसाएर घाममा सुकाइन्छ । यस्तो गर्नाले अल्लोको रेसा मुलायम र सेतो रंगको हुने गर्दछ । दिनभरि घाममा सुकाइएको उक्त रेसालाई फेरि चुट्दै पखाल्नुपर्दछ । र, घाममा सुकाउनुपर्छ । यसरी उत्पादन गरिएको रेसा नै धागो उत्पादनका लागि प्रयोग गरिन्छ ।अल्लोका रेसाहरूबाट धागो उत्पादन गर्न परम्परागत उपकरण कतुवा अथवा चर्खा प्रयोग गरिन्छ । धागो बनिसकेपछि यसलाई रंगमा डुबाइन्छ र सुकाइन्छ । त्यसपछि अल्लोको धागोबाट हाते तान वा आधुनिक उपकरणको प्रयोग गरी विभिन्न सामग्री निर्माण गरिन्छ । गुणस्तरको लागि अल्लोको धागोमा सुती धागो पनि मिसाउने गरिन्छ ।

यसअघि आधुनिक प्रविधि नहुँदा हातैले अल्लो चुटेर धागो निकाल्नुपर्ने अवस्था थियो । घरेलु प्रविधि अपनाउँदा सोचेजति धागो उत्पादन हुन सकेको थिएन । नयाँ प्रविधिले गुणस्तरीय धागो कात्न सजिलो र छिटो भएको छ । अल्लोको प्रवद्र्धनका लागि सबैले जोड दिनुपर्छ ।
– सुमन सुनार, गोरखा ।

प्रतिक्रिया दिनुहोस्