युट्युबले सेनाद्वारा सञ्चालित च्यानल हटायो



यांगुन, (एजेन्सी)।

युट्युबले गत महिना म्यान्मारमा सेनाले सत्ता कब्जा गरेयता हाल दिनहुँ जस्तो विरोध प्रदर्शनकारीहरूमाथि विरोध प्रदर्शन हुन थालेकाले म्यान्मार सेनाद्वारा सञ्चालित पाँचवटा च्यानल हटाएको छ । भिडियो सेयरिङ प्लेटफर्म युट्युबले आफ्नो समुदाय निर्देशिकाअनुसार ती च्यानल हटाएको स्पष्ट गरेका छ ।

गत १ फ्रेबुअरीमा राष्ट्रपति विन मिन्टलगायत प्रजातन्त्रवादी नेतृ आंग सान सुकीलाई हिरासतमा लिएर सेनाले सत्ता कब्जा गरेको थियो । त्यतिबेला सुकीका नेसनल लिग फर डेमोक्रेसी (एनएलडी) का अन्य थुप्रै वरिष्ठ नेताहरूलाई पनि गिरफतार गरिएको थियो ।

अहिले म्यान्मारमा जननिर्वाचित सरकारको पुनस्र्थापना र सम्पूर्ण नेताहरूको यथाशिघ्र रिहाइको माग गर्दै सडक प्रदर्शन भइरहेको छ । शुक्रबार सम्ममा सेना र प्रहरीको गोली लागेर मर्ने प्रदर्शनकारीको संख्या कम्तिमा ५५ पुगेको छ ।सेनाले गत नोभेम्बरमा सम्पन्न आम निर्वाचनमा व्यापक धाँधली भएको आरोप लगाउँदै सैनिक हस्तक्षेप गरेको हो । यद्यपि, सेनाले धाँधलीसम्बन्धी कुनै ठोस प्रमाण पेस गर्न सकेको छैन । चुनावमा एनएलडीले अत्यधिक बहुमतसहित सफलता हासिल गरेको थियो । अमेरिकालगायत युरोपेली संघले सेनालाई सैनिक विद्रोह सच्याउन दबाब दिँदै आएका छन् ।

युट्युबले हटाएका म्यान्मारका च्यानलहरूमा, स्टेट नेटवर्क, एमआरटिभी (म्यान्मार डियो एन्ड टेलिभिजन) लगायत सेनाद्वारा सञ्चालित म्यावादी मिडिया, एमडब्ल्युडी भेराइटी र एमडब्ल्युडी म्यान्मार रहेका छन् । सैनिक विद्रोहयता कम्तिमा २९ जना पत्रकारलगायत १ हजार ७ सय जनाभन्दा बढि व्यक्तिलाई हिरासतमा लिइएको छ ।

प्रतिक्रिया दिनुहोस्