जिप दुर्घटनामा तीनको मृत्यु



किरन धामी, दार्चुला ।

दार्चुलामा शनिबार भएको जिप दुर्घटनामा परी चालकसहित २ जनाको घटनास्थलमै मृत्यु भएको छ भने एक जनाको अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ ।मृत्यु हुनेमा शैल्यशिखर नगरपालिका–८ का ७० वर्षीया सुनादेवी पन्त, ४० वर्षीय पदमराज पन्त, लेकम गाउँपालिका–६ का जिप चालक ३८ वर्षीय करन नाथ रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक भाष्कर चन्दले जानकारी दिनुभयो ।

दुर्घटनामा परी जिपमा सवार अन्य ५ जना घाइते भएको उहाँले जानकारी दिनुभयो । घाइते हुनेमा शैल्यशिखर नगरपालिका–८ का ७२ वर्षीय बुद्धिबल्लव पन्त, सोही ठाउँका १२ वर्षीय मुकेश पन्त, ७ वर्षीय वसन्त पन्त र ७० वर्षीया गंगा पन्त रहेको सूचना अधिकारी चन्दले बताउनुभयो ।गोकुलेश्वरबाट रिठाचौपाता आइरहेको ग३च१६९३ नम्बरको जिप लेकम गाउँपालिका–६ उचाकोट बन्स्याडीमा दुर्घटनामा परेको उहाँले जानकारी दिनुभयो । कच्ची सडक भएका कारण दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ । जिप सडकबाट झन्डै सय मिटर तल खसेको बताइएको छ । घाइतेको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्