प्रधानमन्त्रीका लागि हतार गर्ने पक्षमा छैन : देउवा



काठमाडौं, नेस ।

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०को आन्तरिक किचलोका कारण भावी प्रधानमन्त्रीका रुपमा चर्चा चलिरहेकै बेलामा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू प्रधानमन्त्री बन्ने दौडमा नरहेको स्पष्ट पार्नुभएको छ ।शनिबार आफ्नै निवासमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा सभापति देउवाले प्रमुख प्रतिपक्षी दलका नेता जहिले पनि प्रधानमन्त्रीको दाबेदार हुने भए तापनि आफू अहिले प्रधानमन्त्री बन्ने दौडमा नरहेको स्पष्ट पार्नुभएको हो । उहाँले नेकपाभित्रको आन्तरिक किचलोमा आफू फस्न नचाहेको बताउँदै भन्नुभयो– ‘उनीहरूको आन्तरिक कुरामा हामी पक्ष वा विपक्षमा उभिँदैनौं । संसद्मा उनीहरू कसरी प्रस्तुत हुन्छन्, हामी पनि सोहीअनुरुप निर्णय प्रक्रियामा पुग्नेछौं ।’

कांग्रेस अहिले नै हतार गर्ने पक्षमा नभएको जिकिर गर्दै देउवाले नेकपा दुवै समूहको गतिविधि हेरेपछि मात्रै निर्णय प्रक्रियामा पुग्ने बताउनुभयो । आइतबार बसेको कांग्रेस संसदीय दलको बैठकले समेत सरकारको बारेमा कुनै निर्णय गरेको छैन ।उता प्रचण्ड र नेपाल समूह भने जसरी पनि ओली समूहलाई सत्ताबाट च्युत गरेर नयाँ सरकार गठन प्रक्रियामा सामेल हुने तयारी गरिरहेको छ ।आज आइतबारबाट शुरु हुने संसद् अधिवेशनमा नेकपाको प्रचण्ड–नेपाल समूहले अविश्वासको प्रस्ताव ल्याउने तयारी गरिरहेको बेला देउवाको उक्त भनाइ सार्वजनिक भएपछि सर्वत्र चासोका साथ हेरिएको छ ।प्रचण्ड–माधव नेपाल समूहले देउवालाई प्रधानमन्त्री बनिदिन पटकपटक अनुरोध गर्दै आएको छ । सभापति देउवाले पनि यसअघि प्रधानमन्त्रीको प्रस्ताव आए स्वीकार गर्ने बताउँदै आउनुभएको थियो ।नेपाली कांग्रेसभित्र पनि सत्तामा जाने र नजाने विषयमा जुहारी चलिरहेको छ । कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रचण्ड–नेपाल समूहसँग मिलेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभएको छ भने देउवा समूह भने प्रधानमन्त्री ओलीसँग नै सत्ता साझेदारी गरेर अगाडि बढ्ने मनस्थितिमा छ ।

नेपाली कांग्रेसका अधिकांश नेताहरूचाहिँ कांग्रेस सरकारमा जाने भए आफ्नै नेतृत्वको सरकारमा जानुपर्ने अडानमा रहेका छन् । कांग्रेसले जुन समूहलाई समर्थन ग¥यो, नेकपाको त्यही समूह सत्तामा रहने स्थिति पैदा भएको छ । त्यसैले प्रधानमन्त्री केपी ओली पनि अहिले आफ्नो सत्ता टिकाउन कांग्रेस सभापति देउवालाई साथ लिन खोजिरहनु भएको छ । प्रधानमन्त्री ओलीले आफ्ना दूतमार्फत देउवासँग भेटवार्ता जारी राख्दै सत्ता समीकरणको विषयमा अन्तरंग कुराकानी गरिरहेको बालुवाटार स्रोतले जनाएको छ ।प्रधानमन्त्री ओली र पार्टीका उपाध्यक्षसमेत रहनुभएका वामदेव गौतमबीच शुक्रबार साँझ भैंसेपाटीमा सत्ता साझेदारी र पार्टी एकताको विषयमा गम्भीर छलफलसमेत भएको छ । यद्यपि छलफल निष्कर्षमा भने पुग्न नसकेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्