संसदीय दलमा बहुमत रहेको दुवै समूहको दाबी



काठमाडौं, (नेस) ।

नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड–नेपाल समूह र ओली समूह दुवै पक्षले आ–आफ्नो पक्षमा बहुमत सांसद रहेको दाबी गरेका छन् । शुक्रबार सम्पन्न प्रचण्ड–नेपाल समूहको संसदीय दलमा १ सय १५ जना सांसद रहेको दाबी गरेसँग ओली समूहले पनि आफ्नो पक्षमा १ सय १५ जना सांसद पुगेको दाबी गरेको हो ।

नेकपाभित्र प्रतिनिधिसभा र राष्ट्रियसभामा गरी २ सय २० सांसद रहेका छन्, जसमा बहुमतका लागि १ सय ११ जना सांसदको खाँचो पर्छ । संसदीय दलमा दुवै समूहले बहुमतको दाबी गरे पनि हस्ताक्षरसहितको नामावली दुवै पक्षले सार्वजनिक गरेका छैनन् ।नेकपा प्रचण्ड–नेपाल समूहका वरिष्ठ नेता झलनाथ खनालले शुक्रबार सम्पन्न संसदीय दलको बैठकमा १ सय १३ जना सांसदले हस्ताक्षर गरेको बताउँदै बाँकी तीन जनाले अझै हस्ताक्षर गर्ने बताउनुभयो । आफूहरु संसदीय दलमा बहुमतमा रहेको उहाँले दाबी गर्नुभयो । नेकपा ओली समूहको संसदीय दलको शनिबार बसेको बैठकले बहुमत सांसद उपस्थित भएको दाबी गरेको छ ।

बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै राष्ट्रिय सभाका प्रमुख सचेतकसमेत रहेका सांसद खिमलाल भट्टराईले बैठकमा १ सय १५ जना सांसद उपस्थित भएको दाबी गर्नुभयो । उहाँले राष्ट्रियसभाका २४ र प्रतिनिधिसभाका ९१ जना सांसद् उपस्थित भएको दाबी गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्