‘हामी सत्ता पक्षकै कुर्सीमा बस्छौं, अब प्रमबाट ओलीलाई हटाउँछौं’: झलनाथ खनाल



झलनाथ खनाल  

पार्टी दुई समूहमा रहे पनि औचपारिकरुपमा विभाजित भएको छैन, संसद्मा तपाईंहरू कहाँ बस्नुहुन्छ ?
निर्वाचन आयोगले आधिकारिकताको विषय टुंगो लगाउन ढिलो गर्दै छ । हामीले आधिकारिकता पाउने विषयमा कुनै विवाद नै छैन । हामीले शुक्रबार छिटो विवाद निरुपण गर्न पुनः पत्राचार गरिसकेका छौं । हामीसँग बहुमत केन्द्रीय सदस्य रहेकाले आधिकारिकता पाइहाल्छौं । अब निर्वाचन आयोग अनिर्णयको बन्दी बन्नु हुँदैन । दल औपचारिकरुपमा विभाजित नभइसकेकाले हामी सत्ता पक्षकै कुर्सीमै बस्छौं ।

सरकारविरुद्ध अविश्वासको प्रस्ताव लैजाने चर्चा पनि छ नि ?
नैतिकताको कुरा गर्ने हो भने प्रधानमन्त्री केपी ओलीले अदालतले प्रतिनिधिसभा पुनस्र्थापना गर्ने फैसला गरेकै दिन राजीनामा दिनुपर्दथ्यो । अविश्वासको प्रस्ताव दर्ता गर्ने विषयमा छलफल भइरहेको छ । अब औचापरिकरुपमा प्रधानमन्त्री ओलीलाई हटाउने प्रक्रिया अगाडि बढ्छ । हामीसँग अहिले पनि १ सय १४ जना बहुमत सांसद छन् ।

तपाईंहरू एक्लै अविश्वासको प्रस्ताव दर्ता गर्नुहुन्छ कि अन्य दलको पनि समर्थन लिनुहुन्छ ?
संविधान र लोकतन्त्र नै सिध्याउने गरी प्रतिनिधिधिसभा विघटन गर्ने प्रधानमन्त्रीलाई हटाउनुको विकल्प छैन । सर्वोच्च अदालतले यदि संसद् पुनस्र्थापना गर्ने फैसला नगरेको भए संविधान र लोकतन्त्र नै समाप्त हुन्थ्यो । संसद् पुनस्र्थापना भएको छ । हाम्रो संविधान जोगिएको छ, लोकतन्त्र बचेको छ । अब संविधान र लोकतन्त्र सिध्याउने प्रतिगामीलाई प्रधानमन्त्री बनाइराख्नु हुँदैन ।

दल विभाजित नहुँदासम्म नयाँ सरकार गठनमा कांग्रेसले कुनै निर्णय नगर्ने बताएको छ नि ?
मुख्य कुरा लोकतन्त्र र संविधानको रक्षा हो । कांग्रेसले अलोकतान्त्रिक शक्तिलाई साथ दिन सक्दैन । प्रतिनिधिसभा विघटन भएपछि सडक आन्दोलन गरेकै हो । देश र जनताको आवश्यकतानुसार कांग्रेसले उचित निर्णय गर्नेमा विश्वस्त छु । अहिले पनि परामर्श भइरहेको छ ।

नेताहरू पुनः पार्टी एकताको पक्षमा छलफलमा जुटेका छन् नि?
हामीले पार्टी एकतालाई बलियो बनाउन खोज्दा प्रधानमन्त्री ओलीले संसद् विघटन गर्ने अलोकतान्त्रिक र असंवैधानिक निर्णय लिनुभयो । यो कदम उहाँको लागि आत्मघाती सावित हुन पुगेको छ । पार्टीको विधि र पद्धति नमान्नेसँग एकता गर्नुको अर्थ छैन ।

त्यसो भए अब केपी शर्मा ओलीसँग एकता सम्भव छैन त ?
केपी ओलीबाहेकका अन्य नेतासँग एकता हुन सक्छ किनकि हामी संस्थापन पक्ष भएकाले हाम्रो दायित्व बढी हुन्छ । हामी भ्रममा परेर बाटो बिराएका साथीहरूलाई पार्टीमै फर्काउने पक्षमा लागेका छौं ।

प्रतिक्रिया दिनुहोस्