भारतीय सेनाका अनिश थापालाई हाफ म्याराथनको उपाधि



यमलाल भुसाल, बुटवल ।

रुपन्देहीमा आयोजित रोटरी हाफ म्याराथनको उपाधि भारतीय सेनाको गोरखा राइफल हैदरावादमा कार्यरत अनिश थापा मगरले हात पार्नु भएको छ् । महिलातर्फको उपाधि भने दैलेख नौमूलेकी भावना शाहीले जित्नु भएको छ। थापाले बुटवल पुष्पलाल पार्कदेखि भैरहवा बुद्धचोकसम्म २१ किलोमिटरको हाफ म्याराथन १ घण्टा ६ मिनेट ३९ सेकेन्डमा पार गर्दै उपाधि चुमेका हुन् ।

थापाले उपाधिसँगै नगद १ लाख रुपैया प्राप्त गरेका छन् । सशस्त्र प्रहरी बल ५ नम्बर बाहिनी कपिलवस्तुमा कार्यरत शाहीले १ घण्टा ३८ मिनेट २५ सेकेन्डमा उक्त दूरी पार गरेकी हुन ्। उनले उपाधिसँगै नगद २० हजार रुपैयाँ प्राप्त गरिन् ।

यस्तै, भारतीय सेनामै कार्यरत पांचथरको हिलयाङ गाउँपालिका ५ का दीपक सुहाङले द्वितीय स्थान हासिल गरेका छन् भने सशस्त्र प्रहरी बल ५ नम्बर बाहिनी कपिलवस्तुमा कार्यरत कैलालीको गोदावारी नगरपालिका ३ अत्तरियाका किरणसिंह बोगटी तृतीय भएका छन् ।

दोस्रो भएका सुहाङले उपाधिसँगै नगद ७५ हजार र तृतीय भएका बोगटीले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन्। नेपाली सेनाको गोरखदल गणमा कार्यरत पाल्पाको तिनाउ गाउँपालिकाकी मिनिषा थापा १ घण्टा ४२ मिनेट १८ सेकेन्डमा उक्त दूरी पार गर्दै द्वितीय भइन् भने बर्दियाको बारबर्दिया नगरपालिका २ की कल्पना थारुले १ घण्टा ४३ मिनेट ४ सेकेन्डमा दूरी पार गर्दै तृतीय भइन् ।

रोटरी इन्टरनेसनल डेको अवसर पारेर रोटरी क्लब अफ भैरहवाको आयोजना तथा रिजन फाइभ अन्तर्गतका विभिन्न रोटरी र रोट्रयाक्ट क्लबहरूको सहयोगमा हाफ म्याराथन आयोजना गरिएको थियो। भारतीय सेना, नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी तथा देशभरका विभिन्न क्लब, संघसंस्थाका प्रतिनिधी गरी १ सय १६ जनाको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्