मकवानपुरमा चलचित्र छायाँकनको चर्चा



न्युज अफ नेपाल,हेटौंडा ।

मकवानपुरमा चलचित्र छायांकनका लागि पूर्वाधारयुक्त स्थान बनाउनुपर्नेमा जोड दिइएको छ । चलचित्र पत्रकार संघ नेपाल मकवानपुरको १२ औं वार्षिक साधारणसभामा यसबारे जोड दिइएको हो । सभामा चलचित्र पत्रकार संघ नेपाल संगठन उपाध्यक्ष कुवेर डंगोलले मकवानपुर, चलचित्र छायांकनका लागि उपयुक्त भएको बताउँदै चलचित्र छायांकनबाट स्थानीय पर्यटन प्रवर्द्धन गर्न सुझाएपछि उक्त विषयले फेरि चर्चा पाएको हो ।

विशेषगरि पर्यटकीयस्थलका रुपमा चिनिएको उत्तरी मकवानपुरको होमस्टे तथा त्यसवरिपरिका दृष्यलाई चलचित्रमा उतार्दा दर्शकलाई नयाँ स्वाद हुने र प्रचारप्रसारलाई सहयोग पुग्ने थाहानगरबासीले बताउँदै आएका छ । केही सम्भावनाजन्य पूर्वाधार पूरा गर्नसके चलचित्र छायांकनका लागि पालुङ क्षेत्र उत्कृष्ट बन्नेछ । चलचित्र छायांकनका लागि केन्द्र र प्रदेश राजधानीबाट नजिक थाहानगर उत्तम रोजाई हुने नगरका मेयर लवशेर बिष्टले कलाका कार्यक्रममा बताउँदै आएका छन् ।

‘नेपालले आधुनिक फिल्मसिटी बनाउन चलचित्र विकास बोर्ड, पर्यटन मन्त्रालय, सञ्चार मन्त्रालय, अर्थ मन्त्रालयस“ग सहकार्य गरेरमात्र फिल्मसिटी बनाउन सम्भव छ,’ मेयर बिष्टले भने–फिल्मसिटी बनाउन झण्डै १५ अर्बजति बजेट लाग्ने सुनेको छु । पैसा जुटाउन सबैकोे सहयोग जरुरी हुन्छ ।

उनले थाहा नगरमा हलिउड शैलीको फिल्मसिटी बनाउनुपर्नेमा जोड दिएका छन् । सिंगापुर तथा हलिउडका अन्य फिल्म स्टुडियोमा सबै किसिमका सुविधा रहेकाले त्यही शैलीको स्टुडियो स्थानीयस्तरमा बनाउनुपर्ने उनको बुझाइ छ । नेपाली चलचित्रका निर्माता पछिल्लो समय उत्कृष्ट चलचित्र निर्माणका लागि सजग हुने गरेका देखिन्छ । त्यसको लागि हरेक किसिमबाट गीत/संगीत, कथा, निर्देशनको पाटोदेखि सुन्दर लोकेसनको खोजीमा हुन्छन् ।

आँखालाई शीतलता दिनसक्ने लोकेसन हन्टिङका लागि मेकरहरु समय नै खर्च गरेर निस्कने गरेका छन् । यही परिवेशलाई केही हदसम्म भए पनि सहयोग होस् भन्ने हेतुले नगरले प्रयास थालेको थाहानगर मेयर बिष्ट बताउँछन् । सिनेमा छायांकनका लागि भरपुर प्रयोग गरिँदै आएको छ–उत्तरी मकवानपुरको दामन–पालुङ क्षेत्र । उक्त क्षेत्रमा प्रशस्त संख्यामा चलचित्र छायांकन हुँदै आएका छन् । केही वर्षअघि त्यहाँ फिल्मसिटी बनाउनेबारे बहस नै चलेको थियो ।

बागमती प्रदेशमा फिल्मसिटी निर्माण हुने प्रदेश सरकारले बताउँदा प्रधानमन्त्री केपी ओलीसँग भारतको एस्सेल ग्रुप प्रमुख तथा जी इन्टरटेनमेन्ट इन्टरप्राइज अध्यक्ष सुवास चन्द्रा तथा वरिष्ठ सिने कलाकार जया प्रदालगायतले भेटेका थिए । भारतीय समूह फिल्म सिटी निर्माणका लागि स्थलगत अध्ययन गरेर फर्किएको थियो । अध्ययनपछि जी इन्टरटेनमेन्ट इन्टरप्राइजका अध्यक्ष चन्द्राले नेपालका सुन्दर परिवेशले आफूलाई आकर्षित गरेको बताएका थिए । उनले ती ठाउँबारे प्रशंसाका शव्द खर्चिए ।

चलचित्र पत्रकार संघ नेपाल मकवानपुर अध्यक्ष मणिराज गौतमको सभाध्यक्षमा सम्पन्न सभामा नेपाल पत्रकार महासंघ महासचिव रमेश बिष्टको प्रमुख आतिथ्यता थियो । सभामा महासंघ केन्द्रीय महासचिव बिष्टले मुलुकमा पूर्णप्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कायम रहनुपर्ने बताए । महासचिव बिष्टले राज्यबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा आँच पु-याउने कुनै गतिविधि हुन नहुने धारणा व्यक्त गरे ।

मुलुकमा लोकतन्त्र, मानवअधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता सुनिश्चितताका लागि सरकार र सबै राजनीतिक दललाई उनले अपिल गरे । र, भने–पत्रकारिता क्षेत्रप्रति राज्यको प्रेरणादायी भूमिका आवश्यक छ । पत्रकार महासंघ केन्द्रीय सदस्य पुरुषोत्तम सुबेदीले समाज रुपान्तरणमा पत्रकारको भूमिका महत्वपूर्ण र समाजप्रति जिम्मेवार हुने भएकोले राज्यले पत्रकारिता क्षेत्रप्रति प्रेरणादायी भूमिका निर्वाह गर्नुपर्ने बताए । साधारणसभामा संघ मकवानपुर संस्थापक कार्यसमितिलाई कदरपत्रले सम्मान गरिएको थियो । संघ सचिव श्रीराम अर्जुन दाहालले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्