प्रधानसेनापति खुला म्याराथनको उपाधि सेनाका बस्नेतलाई



काठमाडौँ । प्रधानसेनापति छैटौँ खुला म्याराथन दौड, २०७७ को उपाधि नेपाली सेनाका जमदार कृष्णबहादुर बस्नेतले जितेका छन् । उनले ४२ दशमलव १९५ किलोमिटर फुल म्याराथन दौड दुई घण्टा २१ मिनेट ५९ सेकेण्डमा पूरा गर्दै उपाधि जितेका हुन् ।

सोही स्पर्धामा भारतीय सेनाका तीर्थकुमार पुन दोस्रो भए । उनले निर्धारित दूरी दुई घण्टा २२ मिनेट २७ सेकेण्डमा पूरा गरे । सेनाका सुवेदार होमलाल श्रेष्ठ तृतीय भए । उनले निर्धारित दूरी दुई घण्टा २३ मिनेट ३२ सेकेण्डमा पूरा गरे। पहिलो, दोस्रो र तेस्रो हुने खेलाडीले क्रमशः रु तीन लाख, रु दुई लाख र रु एक लाख नगद पुरस्कार प्राप्त गरे ।

उनीहरुलाई नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले प्रमाणपत्र, ट्रफी र नगद प्रदान गरे । उपाधि विजेता बस्नेतले यमाहा कम्पनीको एक थान मोटरसाइकलसमेत पुरस्कारस्वरुप प्राप्त गरे । सो पुरस्कारको प्रायोजन मेगा बैंकले गरेको हो ।

फुल म्याराथनतर्फ खगेन्द्र भाटले चौथो, नवराज साउदले पाँचौँ, ज्ञानप्रसाद भट्टराईले छैटौँ, देवराज महतराले सातौँ, सागर बुढाथोकीले आठौँ, रमेश मगरातीले नवौँ तथा प्रेम बस्नेतले १०औँ स्थान प्राप्त गरे ।

प्रतिक्रिया दिनुहोस्