महिला, किशोरीलाई आत्मसुरक्षा तालीम



नेपालगञ्ज ।

महिला तथा किशोरीका लागि तीन दिने आत्मसुरक्षा तालीम नेपालगञ्जमा शुरु भएको छ । एक सय एघारौँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा नेपालगञ्ज उपमहानगरपालिका मूल समरोह समितिको आयोजनामा शुक्रबारदेखि महिलाका लागि तीन दिने तालीम शुरु गरिएको हो ।

तालीमको उद्घाटन समारोहमा प्रहरी वरिष्ठ उपरीक्षक किरण रााणाले शारीरिक र मानसिकरुपमा सक्रिय भएमा महिलालाई आत्मसुरक्षामा सहयोग पुग्ने बताउनुभयो । उहाँले महिला यस सृष्टिका सबैभन्दा बलवान व्यक्ति भएकाले आफूलाई कहिल्यै पनि पुरुषभन्दा कमजोर नठान्न सहभागीलाई आग्रह गर्नुभयो ।

उपमहानगरपालिकाका उपप्रमुख उमा थापामगरले महिला तथा किशोरीलाई आत्मसुरक्षा तालीमले आफ्नो सुरक्षाका लागि प्रतिरक्षा गर्न सिकाउने आशा व्यक्त गर्नुभयो । उहाँले राज्यले महिलालाई सुरक्षा, समावेशी, सहभागिताको हिसाबले धेरै व्यवस्था गरेको भए पनि त्यसको कार्यान्वयन गर्न नसकिएको बताउनुभयो । कार्यक्रममा गैरसरकारी संस्था महासङ्घ बाँकेका अध्यक्ष नमस्कार शाह, इन्प्रोकका अध्यक्ष तेजविक्रम शाह, स्वास्थ्य तथा शिक्षा विकास केन्द्रका उपाध्यक्ष गणेशप्रसाद भट्टराईलगायतले बोल्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्