विपक्षमा लाग्दा नगर प्रमुखले गरे कर्मचारी बर्खास्त



वासुदेव शर्मा, जाजरकोट ।

जाजरकोट भेरी नगरपालिकाले तीन जना कर्मचारीलाई बर्खास्त गरेको छ । भेरी नगरपालिकामा सहायक चौथो पदमा कार्यरत भरककुमार शर्मा, एमआईएस अपरेटर पवन शर्मा र सरोज वलीलाई सेवाबाट बर्खास्त गरेको हो ।गत फाल्गुन १८ गतेको निर्णयअनुसार कार्य सन्तोषजनक नभएको भन्दै १९ गतेदेखि लागू हुने गरी आदेशअनुसार करार सम्झौता भंग गरिएको भन्दै ३ जनालाई बर्खास्त गरेको हो ।

नगरापलिकाले तीन जनालाई २४ घण्टे स्पष्टीकरण सोधेको थियो । स्पष्टीकरणपत्रमा लेखिएको थियो– ‘राजनीतिमा भाग लिई संघीय निजामती सेवा ऐन २०४९ को दफा ४४ को भावना विपरीत हुने गरी नेकपा नेपाल–प्रचण्ड समूह निकट प्रेस संगठनको कर्णाली प्रदेश कमिटी सदस्य पदमा आबद्धता भएको स–प्रमाण प्राप्त भएकाले २४ घण्टाभित्र चित्त बुझ्दो जवाफ दिनुहोला अन्यथा ऐनको दफा ४४ अनुसार कारबाही हुनेछ ।’निर्देशनअनुसार भनेर स्पष्टीकरण सोधिएको र कारबाही गरिएको पत्रमा निर्देशनअनुसार उल्लेख गरिएको छ । नेकपा दुई समूहमा विभाजन भएपछि पवन शर्मा प्रधानमन्त्री ओली निकट प्रेस संगठनको जिल्ला संयोजक भएका थिए । केही दिनअघि शर्मा प्रेस संगठनको जिल्ला संयोजन छोडेर प्रचण्ड–नेपाल समूहको प्रेस संगठन कर्णाली प्रदेश सदस्य पदमा मनोनयन भएका थिए । सरोज वली, भरत शर्मा पनि सोही संगठनको प्रदेश सदस्य पदमा मनोनयनमा परेका थिए ।

भेरी नगरपालिकाका नगर प्रमुख चन्द्रप्रकाश घर्ती ओली निकटका हुन् । नगर प्रमुख घर्तीले गत वर्ष जागिरे बनाइदिएका र विश्वासिला पात्रका रूपमा मानिएका पवनले आफ्नो साथ छोडेपछि उनीलगायत तिनै जनाको जागिर चट गर्ने गरी एक्सन लिएका थिए । नगर प्रमुख घर्तीले जागिर चट गरेपछि सामाजिक सञ्जालमा समेत पक्ष र विपक्षमा टीकाटिप्पणि हुन थालेका छन् ।नगर प्रमुख घर्तीले तीन जनाको रोजीरोटी खोसेको भन्दै जिल्लामा रहेका विभिन्न निजामती कर्मचारी सम्बद्ध संगठनहरुले कडा विरोध जनाएका छन् । प्रतिशोध र पूर्वाग्रहबाट प्रेरित भएर कर्मचारी बरर्खास्त गरेको कार्यप्रति गम्भीर ध्यानाकर्षण भएको उनीहरूले जनाएका छन् । आफ्नो नेतृत्वको स्थानीय सरकारमा फरक आस्था राखेका कारण रोजीरोटी खोस्ने कार्यको निन्दा कारबाही तत्काल फिर्ता लिई काममा फर्काउन संयुक्त विज्ञप्तिमा भनिएको छ ।भेरी नगरपालिकामा कार्यरत पवन शर्मा र सरोज वलीलाई गत वर्ष नगर कार्यपालिकाले नियुक्ति गरेको हो भने भरतकुमार शर्मा विगत ९ वर्ष देखिकार्यरत कर्मचारी हुन् ।

प्रतिक्रिया दिनुहोस्