सहमतिपश्चात् बन्द भयो नदीजन्य उत्खनन



कृष्णउदास खनाल, वीरगन्ज ।

पर्साको जगरनाथपुर गाउँपालिका–१ पिपडाढीस्थित ओरिया नदीमा भारतीय पक्षबाट हुने अवैध उत्खनन रोकिएको छ । स्थानीय प्रशासन र भारतीय पक्षबीच भएको वार्तापश्चात् उत्खनन रोकिएका हो । गत माघ ३० गते भारतीयले नेपाली भूमिभित्र पसेर अवैध उत्खनन गर्दा स्थानीय र सशस्त्र प्रहरीले रोक्न खोज्दा दुई जना सशस्त्र प्रहरी घाइते भएपछि वार्ता थालिएको थियो ।

पर्साका प्रमुख जिल्ला अधिकारी आसमान तामाङको पहलमा भारतीय पक्षबाट पूर्वी चम्पारणका एसडीएम साइला हर र एसएसबीका अधिकारीहरूसँग बैठक गरी ओरिया नदीमा भारतीय पक्षबाट भइरहेको अवैध उत्खनन रोक्ने सहमति भएको हो । दुवै देशका सीमा अधिकारीबीचको बैठकले नेपाली भूमिमा अवैध उत्खनन नगर्ने र सिमाना कायमका लागि दुई देशका नापी विभागसँग पहल गर्ने प्रस्ताव राखिएको र उक्त प्रस्तावमा सहमति भएको प्रमुख जिल्ला अधिकारी तामाङले बताउनुभयो । तामाङले सीमाको विषयमा टुंगो नलागेसम्म तत्काल भारतीय पक्षबाट भइरहेको उत्खनन रोक्न भारतीय एसडीएमले सहमति जनाएका कारण अहिले ओरिया नदीमा बालुवाको उत्खनन रोकिएको उहाँ बताउनुहुन्छ ।

ओरिया नदीमा रहेको सीमास्तम्भ निर्माणका लागि नापी विभागका अधिकारीहरूले स्थलगत निरीक्षण गर्ने र सीमा निर्धारण गरेपछि आ–आफ्नो सीमामा वैध तरिकाबाट उत्खनन हुन दिने सहमति भएको पनि प्रमुख जिल्ला अधिकारी तमाङले जानकारी दिनुभयो । यसअघि भारतीय पक्षले नेपाली भूमिमा प्रवेश गरी अनधिकृतरूपमा ओरिया नदीमा बालुवाको उत्खनन गर्दै आएका थिए ।ओरिया नदीमा निजी आवादी जग्गा रहेका नेपालीहरूले अहिले भारतीय पक्षबाट उत्खनन रोकिएपछि राहत महसुस गरेका छन् । भारतीय पक्षले ओरिया नदीमा बालुवा उत्खनन गरी बलजफ्ती लैजाने गरेका थिए । त्यस क्रममा भारतीय गाउँले र नेपाली सुरक्षाकर्मीहरूबीच झडप पनि हुँदै आएको थियो ।

पिपरडाढीका शिक्षक कारी चौधरीले निजी आवादी जग्गामा भारतीय पक्षबाट बलजफ्ती हुने गरेको उत्खनन रोकिएकोमा खुसी व्यक्त गर्नुभयो । शिक्षक चौधरीले भारतीय पक्षले आफ्नो भूमिबाट उत्खनन गर्ने वातावरण सिर्जना भए लामो समयदेखिको विवाद साम्य हुने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्