आपराधिक घटना परिवार र आफन्तबाटै

शान्तिसुरक्षामा चुनौती



विनोदसिंह विष्ट, बैतडी ।
आपराधिक घटनाहरु परिवार र आफन्तबाटै हुने गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयले पाटन र मैलौलीमा आयोजना गरिएको नागरिक सुनुवाइ कार्यक्रममा प्रहरीले यस्तो बताएको हो ।

नागरिकका गुनासा सुन्ने र शान्तिसुरक्षा कायम गर्न थप के गर्नुपर्छ भनेर प्रहरीले राखेको नागरिक सुनुवाइ कार्यक्रममा सो तथ्याङ्क सार्वजनिक भएको थियो ।
‘हामीले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उपस्थित व्यक्तिहरुले परिवार र आफन्तबाटै जोगिन गाह्रो भएको बताएका हुन् ।’ –बैतडी प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारी बताउनुभयो ।गएको १ महिनायता जिल्लामा भएका घटनाहरुलाई हेर्दा पनि ती घटनाहरु आफन्त तथा परिवारबाटै भएका देखिएका छन् । फागुन १८ गते मात्रै जिल्लाको पञ्चेश्वर गाउँपालिका–५ का राजबहादुर चन्दले आफ्ना ३ महिने छोराको हत्या गर्नुका साथै बुबा, आमा, श्रीमती र भाइलाई कुटपिटको घटनालाई लिन सकिन्छ ।

यसका साथै गत माघ अन्तिम सातातिर जिल्लाको पुर्चौडी नगरपालिकामा बुबाले आफ्नी छोरीलाई गोली हानी हत्याको घटना र गत माघ २१ गते दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या घटनामा भाइ नाता पर्ने दिनेश भट्टको संलग्नता भएको आरोप लागेको छ ।
यसरी ठूला आपराधिक घटना परिवार र आफन्तबाटै हुन थालेपछि शान्तिसुरक्षा कायम गर्न चुनौती रहेको प्रहरी नायव उपरीक्षक अधिकारीले बताउनुभयो । उहाँले भन्नुभयो– ‘घर–परिवारबाटै हिंसा र आपराधिक घटना हुन थालेपछिसुरक्षा चुनौती बढेको छ ।’

मदिरा मुख्य कारण
बैतडीका भएका आपराधिक घटना हुनुमा मदिरा सेवन मुख्य कारण देखिएको छ । नागरिक सुनुवाइ कार्यक्रममा सहभागी प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीका अनुसार मदिरा सेवन गरेकै कारण हिंसा र आपराधिक घटना बढी हुने गरेका छन् । ‘९० प्रतिशत आपराधिक घटना मदिरा सेवनका कारण हुने देखिएका छन् ।’ – उहाँले भन्नुभयो । दैनिक उपभोग्य तथा खाद्यान्न पाइने पसलहरुमा समेत मदिरा बिक्री हुने गरेको स्थानीयले गुनासो गरेका थिए ।
मदिरा बिक्री–वितरण तथा सेवन रोकथाम तथा नियन्त्रण गर्नका लागि स्थानीय तहहरुको महत्वपूर्ण भूमिका हुने प्रहरीको भनाइ छ ।

चेतनाको कमी
चेतनाको कमीका कारणले पनि आपराधिक घटना बढीरहेका प्रहरीले जनाएको छ । चेतना अभावको कमीले पनि आपराधिक घटना हुने गरेका प्रहरी नायव उपरीक्षक अधिकारीले बताउनुभयो । उहाँले भन्नुभयो– ‘चेतनाको अभावले यस्ता घटना बढेका देखिन्छन् ।’नागरिक सुनुवाइ कार्यक्रममा सहभागीहरूको गुनासालाई सम्बोधन गर्दै उहाँले समाजमा घट्ने हरेक घटनाहरूको न्यूनीकरणका लागि प्रहरी र नागरिकको सहकार्यको विकल्प नरहेको पनि प्रमुख जिल्ला अधिकारी जोशीले बताउनुभयो । अन्य सहभागीहरुले युवा पिँढीका लागि मनोपरामर्श जस्ता कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने, टोल टोलमा हुने गरेका जुवातास र अवैध मदिरा बिक्री–वितरण तथा सेवनलाई न्यूनीकरण गर्नुपर्ने सुझाव दिएका थिए ।

जिल्ला प्रहरी कार्यालय बैतडीले जिल्लाका हालसमम्म डेढ दर्जन बढी विद्यालयमा सचेतनामूलक कार्यक्रमहरू सम्पन्न गरिसकेको जनाएको छ ।नागरिक सुनुवाइ कार्यक्रममा प्रमुख जिल्ला अधिकारी मोहनराज जोशी, जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख, प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारी, स्थानीय जनप्रतिनिधि, सरोकारवाला निकाय, पत्रकारलगायतको सहभागिता रहेको छ ।जिल्लाका सबै स्थानीय तहमा प्रहरी नागरिक सुनुवाइ गर्ने कार्यक्रम रहेको छ । हालसम्म पाटन नगरपालिका र मेलौली नगरपालिकामा सम्पन्न भइसकेको छ । बाँकी रहेका अन्य स्थानीय तहमा पनि केही दिनमै निरन्तररूपमा कार्यक्रम सञ्चालन गरिने जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्