अर्थतन्त्रले लय समाउन थाल्यो: महासंघ



नेपाल समाचारपत्र, काठमाडौं ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा र नेपालका लागि फ्रान्सका राजदूत फंस्वा–जाभिए लेजेबीच आर्थिक व्यावसायिक सम्बन्ध विस्तार, आर्थिक सहकार्यका विविध विषयमा छलफल भएको छ ।

भेटवार्तामा आगामी जुन महिना अघि नेपाल फ्रान्स विजनेस फोरम बैठक आयोजना गर्ने र उक्त फोरम बैठकमा महासंघका तर्फबाट कोभिडपश्चात नेपालकोआर्थिक अवस्था र नेपालमा लगानी सम्भाव्यता विषयमा विस्तृत प्रस्तुती गर्ने सहमति भयो ।भेटवार्ताका क्रममा अध्यक्ष गोल्छाले नेपाल फ्रान्सबीच आपसी सहकार्यका क्षेत्रको सम्भाव्यता अध्ययन गरी त्यस्ता क्षेत्रमा लगानी एवम् सहकार्यको लागि आग्रह गर्नुभयो । अध्यक्ष गोल्छाले कोभिडपछि नेपालको अर्थतन्त्रले निकै छिट्टै लय समाउन थालेको जानकारी गराउनुभयो । उहाँले दुवै देशका निजी क्षेत्रबीच सम्पर्क विस्तारमार्फत नेपालमा फ्रान्सेली लगानी अभिवृद्धि, व्यापार विस्तारलगायतमा जोड दिनुभयो ।

त्यस्तै राजदूत लेजेले फ्रान्स र नेपालबीचको आर्थिक एवम् व्यावसायिक सम्बन्ध विस्तारलाई थप मजबुत बनाउन आफूले निरन्तर पहल गरिरहेको बताउनुभयो । गएको वर्ष नेपालबाट भएको फ्रान्सको उच्चस्तरीय भ्रमणमा महासंघको पनि सहभागिता रहेको र सो क्रममा महासंघ र मेडेफ इन्टरनेशनलबीच सहमतिपत्रमा हस्ताक्षर भएको पनि उहाँले स्मरण गर्नुभयो । नेपालको आर्थिक विकासमा फ्रान्सको निरन्तर सहयोग रहने प्रतिबद्धता जनाउंँदै नेपाल फ्रान्स विजनेस फोरम बैठकलाई परिणाममुखी बनाउने दृढता समेत राजदूत लेजेले व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्