लामो समयपछि कोर्टमा फर्किए विवेक



नेपाल समाचारपत्र, भोजपुर  ।

पूर्वराष्ट्रिय च्याम्पियन भोजपुरका विवेक श्रेष्ठले लामो समयपछि पुनः कोर्टमा फर्केर जारी प्रदेश १ स्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता २०७७ मा जित हात पारेका छन् ।पुरुष एकलतर्फ श्रेष्ठले सुनसरीका प्रकाश लिम्बूलाई २१–१४, २१–१५ को सोझो सेटमा पराजित गर्दै क्वार्टरफाइनलको यात्रासमेत तय गरे । विवेक २०६४ सालमा चितवनमा भएको ३४औं राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा यु–१६ जुनियर च्याम्पियन भएका थिए । उनले त्यस समय अहिलेका नम्बर एक खेलाडी तथा पूर्वराष्ट्रि«य च्याम्पियन भोजपुरकै रत्नजित तामाङलाई पराजित गर्दै च्याम्पियन भएका थिए ।

यस्तै, उनी सिनियरतर्फ राष्ट्रिय च्याम्पियनमा सेमिफाइनलिस्ट र पुरुष युगल तर्फका पनि फाइनलिस्ट खेलाडी रहिसकेका छन् । निकै नै स्तरीय खेल प्रदर्शन गर्ने र सम्भावित राष्ट्रिय च्याम्पियनको रूपमा हेरिएका खेलाडी बिवेकले ३ वर्ष अगाडि सुनसरीको इटहरीमा भएको सातौं पुष्पलाल रेन्किङ राष्ट्रि«य ब्याडमिन्टन प्रतियोगितापश्चात् घरायसी कारणले खेललाई अगाडि बढाउन सकेका थिएनन् ।विवेकले पुरुष युगलतर्फ पनि जित निकाले । उनले विशाल तामाङसंग मिलेर दिङला भोजपुरका लेखनाथ श्रेष्ठ र बुद्ध तामाङको जोडीलाई २१–१७, २१–१६ ले पराजित गर्दै अन्तिम ८ मा स्थान बनाएका थिए ।

अन्तिम आठमा स्थान बनाउने क्रममा नंम्बर १ खेलाडी रत्नजित तामाङ र नविन श्रेष्ठको जोडी पनि दिङला भोजपुरका दावा शेर्पा र नरेन्द्र तामाङको जोडीबाट वाक ओभर प्राप्त गरे ।भोजपुर जिल्ला ब्याडमिन्टन संघको आयोजना तथा भोजपुर नगरपालिकाको प्रायोजनमा भएको प्रतियोगिताको पुरुष एकलको अन्तिम आठमा प्रवेश गर्ने अन्य खेलाडीहरूमा सुनसरीका सुजन श्रेष्ठ, पाँचथरका दिवस शंकर, झापाका प्रनिश सिंह ठकुरी, पा“चथरका एशिया जवेगु, सोलुखुम्बुका पेम्बा शेर्पा, ईटहरी ब्याडमिन्टन क्बलका भोजबहादुर गुरुङ र संखुवासभाका पविन लिनथेप रहेका छन् ।

महिला एकलतर्फ सुनसरीकी सृष्टि चामलिङ राईले बेलटारकी स्मृति राईलाई २१–९, २१–११, बेलटारकी रोजी राईले भोजपुरकी मेनुका तामाङलाई २१–१६, २१–८ र धनकुटाकी अरुणा तामाङले भोजपुरकी मन कुमारी राईलाई २१–६, २१–५ ले पराजित गर्दै अन्तिम आठ प्रवेश गरे । यस्तै, सृष्टि चाम्लिङ र रोजी राई यु १७ छात्रातर्फ अन्तिम चारमा पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस्