बार्सिलोना कोपा डेल रे को फाइनलमा



लन्डन, (एजेन्सी) ।

बार्सिलोना स्पेनिस कोपा डेल रे फुटबलको फाइनलमा प्रवेश गरेको छ । प्रतियोगिता अन्तर्गत बुधबार राति क्याम्प नोउमा भएको सेमिफाइनलको दोस्रो लेगको खेलमा सेभियालाई ३–० गोलअन्तरले पराजित गर्दै बार्सिलोनाले फाइनलमा स्थान पक्का गरेको हो ।बार्सिलोना समग्रमा ३–२ को जितसहित उपाधि नजिक पुगेको हो । यसअघि बार्सिलोनाले पहिलो लेगमा सेभियासँग २–० को हार व्यहोरेको थियो । तर, बार्सिलोनाले घरेलु मैदानमा उत्कृष्ट पुनरागमन ग¥यो । क्याम्प नोउमा बार्सिलोनालाई जित दिलाउन ओसुमाने डेम्बेले, जेरार्ड पिके र मार्टिन ब्रेथवेटले एक–एक गोल गरे ।

खेलको १२ औं मिनेटमा डेम्बेलेले गोल गर्दै टोलीलाई १–० को अग्रता दिलाएका थिए । खेलको ७३ औं मिनेटमा सेभियाले पेनाल्टीको अवसर पाएको थियो । तर, लुकास ओकाम्पसको पेनाल्टी प्रहार बार्सिलोनाका गोलरक्षक मार्क स्टेगनले उत्कृष्ट बचाउ गरे । खेलको इन्जुरी समयमा फेर्नान्डोले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाएर मैदान छाडेपछि सेभिया १० खेलाडीमा समेटिएको थियो । यता, इन्जुरी समयको चौंथो मिनेटमा बार्सिलोनाका पिकेले गोल गरेपछि बार्सिलोनाको अग्रता दोब्बर बन्यो ।पिकेको गोलसँगै  बार्सिलोना र सेभियाबीचको खेल समग्रमा २–२ को अवस्थामा पुगेको थियो । त्यसपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयमा बार्सिलोनाका ब्रेथवेट नायक सावित बने । उनले ९५ औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई ३–० को जित दिलाए । त्यस्तै खेलको १०३ औं मिनेटमा लुक डी जोङले रातो कार्ड पाएपछि सेभिया ९ खेलाडीमा खुम्चिएको थियो ।

यस जितसँगै बार्सिलोनाले सेभियालाई समग्रमा ३–२ ले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो । बार्सिलोना पछिल्लो ११ संस्करणमध्ये १० पटक प्रतियोगिताको फाइनलमा पुगेको छ । अब बार्सिलोनाले उपाधिका लागि एथ्लेटिक बिल्बाओ र लेभान्टेबीचको विजेतास“ग खेल्नेछ । यी दुईबीचको पहिलो लेग १–१ गोलको बराबरीमा टुंगिएको थियो ।

प्रतिक्रिया दिनुहोस्