प्रधानमन्त्री ओली झापा नजाने



भद्रपुर, (नेस) ।

प्रतिनिधिसभा बैठकलाई मध्यनजर गरी प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापा जाने कार्यक्रम स्थगित भएको छ । प्रधानमन्त्री ओली यसै साता तेस्रो पटक झापा जान लाग्नुभएको थियो ।आज शुक्रबार अर्थात् फागुन २१ गते ४८औं सुखानी शहीद दिवसको अवसरमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) झापाले आयोजना गर्न लागेको बृहत् जनसभालाई सम्बोधन गर्न प्रधानमन्त्री ओली झापा जाने कार्यक्रम तय भएको थियो ।

प्रधानमन्त्री ओलीसँगै गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र संविधानसभा अध्यक्ष सुवास नेम्वाङलगायत झापा आउन लागेपछि ओली समूहका नेकपाले प्रचारप्रसार तीव्र पारेका थिए । नेकपा झापाले बुधबार बिर्तामोडस्थित हिकोला हेरिटेजमा पत्रकार सम्मेलन गर्दै सो विषयमा जानकारीसमेत गराएको थियो । अन्ततः प्रधानमन्त्री ओली नआउने भएपछि बिर्तामोडमा आयोजना गर्न लागिएको बृहत् जनसभाको कार्यक्रम स्थगित गर्नुपरेको प्रदेश सांसद वसन्त बानियाँले जानकारी दिनुभयो ।बुधबार बेलुकासम्म प्रधानमन्त्री आउने कार्यक्रम तय भएको बताउँदै सांसद बानियाँले फागुन २३ गते प्रतिनिधिसभा बैठक सञ्चालन गर्नुपर्ने र त्यसको आवश्यक तयारीमा उहाँ विभिन्न राजनीतिक दल, मन्त्री, नेता तथा कार्यकर्तासँग छलफल गर्नुपर्ने भएकोले झापा आउने कार्यक्रम स्थगित भएको बताउनुभयो।

प्रधानमन्त्री ओली आउन लागेपछि बुधबारदेखि नै जिल्लाका प्रहरी, प्रशासन सुरक्षा व्यवस्था मिलाउन तयारीमा जुटेका थिए । लिखित पत्र नआए पनि प्रधानमन्त्री ओली झापा नआउने निश्चित जानकारी प्राप्त भइसकेको प्रहरी कार्यालय झापाका प्रवक्ता तथा डीएसपी राकेश थापाले जानकारी दिनुभयो । झापा र इलाम जोडिएको सालबारीमा रहेको शहीद पार्क पुगेर प्रधानमन्त्रीले माल्यार्पण गरी बिर्तामोडको सभालाई सम्बोधन गर्ने कार्यक्रम तोकिएको थियो । तर, जिल्ला सुरक्षा समितिले प्रधानमन्त्रीको सुरक्षा र स्वास्थ्य संवेदनशीलता ख्याल गरेर सुखानी जान रोक लगाएका थिए ।

प्रतिक्रिया दिनुहोस्