ट्राफिकको सफलता,दुई हप्तामै चोरिएका २७ मोटरसाइकल फेला



नेपाल समाचारपत्र, काठमाडौं ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले पछिल्लो समयमा एकपछि अर्को सफलता हात पारेको छ । सादा पोसाकमा खटिने ट्राफिक प्रहरी टोलीलाई विशेष सक्रियताका साथ परिचालन गरेसँगै चोरी भएका २७ वटा मोटरसाइकल दुई हप्तामै खोजतलास गरी फेला पार्न सफल भएको छ ।उपत्यका र आसपासका विभिन्न स्थानबाट चोरी भएका मोटरसाइकल बरामद गरी महाशाखाले बिहीबार एक कार्यक्रमका बीच सम्बन्धित सवारी धनीलाई जिम्मा लगाएको हो । महाशाखाले सुराकी तथा विशेष सूचनामार्फत टोली परिचालन गरी ती मोटरसाइकल बरामद गरिएको हो ।

महाशाखाको पीडित सहायता इकाइबाट सादा पोसाकमा खटिएको ट्राफिक टोलीले उपत्यकाको जोरपाटी, जगाती, काँडाघारी, माछापोखरी, गोकर्णेश्वर, बूढानीलकण्ठ, टोखा, नयाँ बसपार्कका साथै उपत्यकासँग सिमाना जोडिएका नुवाकोट, धादिङ र मकवानपुर जिल्लाका विभिन्न स्थानबाट यी मोटरसाइकल बरामद गरेको एसएसपी जानकी भट्टराईले जानकारी दिनुभयो ।उहाँले भन्नुभयो– ‘हाम्रो टोलीले उपत्यका आसपासको इलाकामा विशेष सूचना संकलन गरी अपरेसनमा गई मोटरसाइकल बरामद गर्दछन, चोरीमा संलग्न मानिसलाई पक्राउ गरी आवश्यक कारबाहीका लागि विभिन्न प्रहरी वृत्तहरुमा पठाउने गरेका छौं । अनुसन्धानपश्चात फेला परेका र बरामद गरेका मोटरसाइकल सम्बन्धित धनीलाई सम्पर्क गरी बुझाउने गरेका छौं ।’

महाशाखाले ट्राफिक व्यवस्थापनसँगै मोटरसाइकल चोरी नियन्त्रणतर्फ पनि सक्रिय भई टोली परिचालन गरिरहेको छ । चोरीमा संलग्न मानिस र मोटरसाइकल नियन्त्रणको संख्यामा उल्लेख्य वृद्धि भएसँगै चोरी नियन्त्रणमा कमी ल्याउन महाशाखा सफल भएको छ । बिहीबार मात्रै करिब ८० लाखभन्दा बढी मूल्य बराबरका विभिन्न कम्पनीका मोटरसाइकल सम्बन्धित धनीलाई बुझाएको छ भने यस वर्षमा करिब १६ करोडभन्दा बढी मूल्य पर्ने मोटरसाइकलहरु नियन्त्रणमा लिएको महाशाखाले जनाएको छ ।लामो समयसम्म पार्किङ, एकान्त र अँध्यारो स्थानमा पार्किङ गर्दा र अतिरिक्त लक तथा साइरनको प्रयोग नगर्दा चोरी हुने सम्भावना अत्यधिक हुने हुनाले सम्बन्धित मोटरसाइकल धनी एव चालक स्वयम् होसियार रहनुपर्ने महाशाखाले जनाएको छ ।

सम्बन्धित सवारी धनी एवम् चालक नै चोरी नियन्त्रणको एक प्रमुख कारक भएको हुनाले पार्किङ गर्दा विशेष ध्यान दिनुपर्ने र अतिरिक्त सुरक्षाका उपायहरु प्रयोग गर्नुपर्ने महाशाखाको सुझाव छ ।चालु आर्थिक वर्षमा मात्रै हराएका २ सय ७९वटा मोटरसाइकल सवारी धनीलाई जिम्मा लगाउनुको साथै चोरीमा संलग्न ४१ जनालाई पक्राउ गरी विभिन्न प्रहरी वृत्तमार्फत मुद्दा चलाएको महशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्