देवीभञ्ज्याङलाई लायन्सको सहयोग



काठमाडौं, (नेस)  ।

लायन्स क्लब अफ काठमाडौं इन्द्रायणी खुसिबँुले बुधबार चितवन जिल्लाको इच्छाकामना गाउँपालिका–६ कालिखोलास्थित श्री देवीभञ्ज्याङ राष्ट्रिय आधारभूत विद्यालयमा जुत्ता, मोजा, स्टेसनरी सामानका साथै ४० इन्चको टेलिभिजन वितरण गरेको छ ।

अधिकांश विपन्न चेपाङ विद्यार्थी पढ्ने यस विद्यालयमा पढ्न आउने धेरैजसो विद्यार्थी चप्पलसमेत नलगाई डेढ घन्टासम्म हिँडेर विद्यालय आउने गर्छन् । विपन्न विद्यार्थी पढ्ने विभिन्न विद्यालयमा पुगी सहयोग गर्दै आइरहेको लायन्स क्लब इन्द्रयणीले गत वर्षदेखि यस विद्यालयलाई सहयोग गर्दै आइरहेको छ । गत वर्ष स्कूल ब्याग वितरण गरेको क्लबले यस वर्ष जुत्तालगायतका सामान वितरण गरेको हो ।‘गत वर्ष हामी आउँदा अधिकांश विद्यार्थी चप्पलसमेत नलाई खाली खुट्टा गिटी बिछ्याइएको बाटोबाट हिँड्दै आएको देखेकाले यस वर्ष विद्यार्थीहरुलाई जुत्ता दिएको छौं।’ –क्लबका अध्यक्ष सागर डंगोलले बताउनुभयो ।प्रधानाध्यापक ज्ञानुदेवी पाण्डेले १ सय ३४ जना विद्यार्थी रहेको स्कुलमा १ सय ३३ जना चेपाङ बालबालिका रहेको जानकारी दिनुभयो ।

पाण्डेले टेलिभिजन आएपछि विद्यार्थीहरु नियमित विद्यालय आउन आकर्षित हुने साथै भिजुअल माध्यमबाट पढाउँदा गुणस्तरीय शिक्षा पनि दिन सकिने बताउनुभयो ।केही समयपछि विद्यालयमा स्वास्थ्य शिविर सञ्चालन गर्ने योजनमा रहेको लायन्स क्लब इन्द्रायणीका सचिव निर्मल महर्जनले देवीभञ्ज्याङ विद्यालयका विद्यार्थीको अवस्था हेरेर निरन्तर सहयोग गर्ने योजना रहेको बताउनुभयो ।कार्यक्रममा लायन्स क्लब अफ इन्टरनेशनल ३२५ बी १ का एलसीआइएफ लायन बालकृष्ण बुर्लाकोटी प्रमुख अतिथि र डिस्ट्रिक गभर्नर मानबहादुर रोकाया विशेष अतिथिका रुपमा उपस्थित थिए ।

प्रतिक्रिया दिनुहोस्