माथिल्लो तामाकोशी आयोजनाको नियति



डिल्लीराम मिश्र

स्वेदशी श्रम, सीप र लगानी बढी दिगो रहन्छ । त्यसैले स्वदेशी सीप तथा पूँजीबाट निर्माण गरिएका प्रायः जलविद्युत् योजनाहरू धेरै सस्तोमा सम्पन्न भएका छन् । स्वदेशी लगानीमा निर्माण हुन लागेको माथिल्लो तामाकोशी जलविद्युत् परियोजना यसै शृङ्खलामा पर्दछ । यो आयोजना नेपालकै इतिहासमा अहिलेसम्मको सबैभन्दा ठूलो स्वदेशी योजना हो । प्राविधिक, आर्थिक, सामाजिक र वातावरणीय पक्षले समेत अनुकूल रहेको यो आयोजनाको निर्माण कार्य सन् २०१३ सम्म सम्पन्न गर्ने लक्ष्य रहेको थियो, तर आज सन् २०२१ सम्म आइपुग्दा पनि सम्पन्न हुने अवस्थामा देखिँदैन । यस आयोजनाले पनि मध्य–मस्र्याङ्दीको जस्तै नियति भोग्नुपरेको छ । दोलखा सदरमुकाम चरिकोटबाट करिब ५० कि.मि. उत्तर तिब्बती सीमा लामाबगरमा निर्माण भइरहेको तामाकोशी जलविद्युत् परियोजनाबाट देशमा सबैभन्दा सस्तो लागतमा विद्युत् उत्पादन हुने प्रक्षेपण शुरुका दिनमा गरिएको थियो । विद्युत् क्षमता ४५६ मेघावाट रहेको यस परियोजनाबाट वार्षिक २ अर्ब १९ करोड युनिट विद्युत् उत्पादन हुने र प्रतियुनिट लागत ३ रुपियाँ ५० पैसा मात्र पर्ने जनाइएको थियो । यस अर्थमा पनि तामाकोशी जलविद्युत् परियोजना कोसेढुङ्गा साबित हुने भनिएको हो । नेपाल विद्युत् प्राधिकरणकै भौतिक र आर्थिक स्रोतबाट परियोजनाको विस्तृत सम्भाव्यता अध्ययन सम्पन्न भएको होे ।
नेपाल विद्युत प्राधिकरणद्वारा विदेशी लगानीमा निर्माण गरिएका जति पनि जलविद्युत् परियोजनाहरू छन्, ती महङ्गो साबित भएको तथ्य सबैका सामु जगजाहेरै छ । जलस्रोतको धनी देश भएर पनि नेपाली जनताले संसारकै महङ्गो विद्युत् उपभोग गर्नुपरेको छ ।

स्वदेशी लगानी र निजी क्षेत्रबाट निर्माण भएको चिलिमे जलविद्युत् योजनाबाट सस्तो दरमा विद्युत् उत्पादन त भएको छ, तर २२ मेघावाटको सानो क्षमताले गर्दा नेपालीहरूले यसको अनुभव नै गर्न पाएका छैनन् । त्यसै गरी विदेशी लगानीमा निर्माण भएका भोटेकोशी र खिम्ती जलविद्युत् केन्द्रहरूबाट उत्पादित विद्युत् पनि महङ्गो दरमा खरिद गर्न नेपाल विद्युत् प्राधिकरण विवश छ । यस्तो अवस्थामा माथिल्लो तामाकोशी जलविद्युत् परियोजना स्वदेशी पूँजीलाई परिचालन गरी निर्माण गर्नु अति आवश्यक थियो । कम खेतीयोग्य जमिन, पातलो बस्ती र नगण्य वातावरणमा जैविक तथा सामाजिक, आर्थिक र सांस्कृतिक सम्पदामा मध्यमस्तरको प्रभाव पर्ने हुँदा यो परियोजना बढी आकर्षक बन्न गएको हो । यस परियोजनाको मुख्य विशेषता ८ सय २० मिटर अग्लो स्थानबाट पानी झर्ने सुविधा र प्राकृतिक बाँध नै हो ।देशमा विद्युत् उत्पादन र आपूर्तिमा सन्तुलन कायम गर्न पनि प्रत्येक वर्ष ५० मेघावाट विद्युत् उत्पादन गर्नुपर्ने हुन्छ तर यो कार्य सहज भैरहेको छैन । यस्तो अवस्थामा तामाकोशी जलविद्युत् परियोजना तत्काल कार्यान्वयनमा ल्याउनु अपरिहार्य छ । यस योजनाबाट उत्पादित विद्युत्ले सन् २०१३ पछाडिका ६ वर्षको विद्युत् आपूर्तिलाई धान्न सक्ने अवस्था हो, तर यसबीचमा समयमै आयोजना सम्पन्न हुन नसक्दा जलविद्युत्को क्षेत्रमा प्रतिकूल असर परेको छ । स्वदेशी जनशक्ति र प्रविधिमा सञ्चालन गरिने अनि लगानीको ठूलो हिस्सा स्वदेशमै रहने तामाकोशी जलविद्युत् परियोजनाको कुल लागत ३५ अर्ब २० करोड लाग्ने अनुमान गरिएको थियो ।

त्यसमध्ये रु. २५ अर्ब ७० करोड ऋण लगानी एवम् आयोजनाको स्वामित्व पूँजी ९ अर्ब ५० करोड परिचालन गरिने भनिएको थियो । यस आयोजना निर्माणका लागि कर्मचारी सञ्चय कोषले रु. १० अर्ब, नेपाल टेलिकमले रु. ६ अर्ब, नागरिक लगानी कोष र राष्ट्रिय बिमा संस्थानले २–२ अर्ब र नेपाल सरकारले ११ अर्ब ८ करोड रुपियाँ लगानी गर्ने भनिएको थियो । तर यो आङ्कडा आज असफल साबित भएको छ ।सरकार, विभिन्न वित्तीय संस्था, संस्थान, बोर्ड, आयोजनास्थलका नागरिक र सर्वसाधारणको शेयर लगानीबाट बन्न लागेको आयोजना भएकोले सस्तो मानिएको हो । २ हजार अमेरिकी डलरभन्दा कम लागतमा उत्पादन भएको जलविद्युत् योजना सस्तो मानिन्छ भने यस परियोजनाको प्रतिकिलोवाट लागत १ हजार ३ सय डलर मात्र लाग्ने अनुमान गरिएको थियो । यसअघि सबैभन्दा सस्तो मानिएको चिलिमे जलविद्युत्को लागत १ हजार ६ सय डलर थियो भने देशकै सबैभन्दा ठूलो १४४ मेघाबाट क्षमताको कालीगण्डकी ए जलविद्युत् योजनाको लागत ३ हजार ५ सय डलर रहेको देखिन्छ । मध्यमस्र्याङ्दी जलविद्युत् परियोजनाको प्रतिकिलोवाट लागत ५ हजार अमेरिकी डलर पुगेको थियो । त्यसैले तामाकोशी जलविद्युत् परियोजनाजति सस्तो आयोजना यसअघि बनेका थिएनन् भन्ने तर्क सम्बन्धित निकायको रहेको छ । यस आयोजनाबाट उत्पादिन विद्युत्लाई प्रतियुनिट ३ रुपियाँ ७५ पैसामा प्राधिकरणलाई बिक्री गर्दा कम्पनीले वार्षिक रु ८ अर्ब २१ करोड ५० लाख आम्दानी गर्न सक्ने सम्बन्धित पक्षको दाबी थियो ।
नेपालका अधिकाङ्श जलविद्युत् आयोजनाहरू रन–अफ–रिभर प्रकारका भएकोले तामाकोशी जलविद्युत् आयोजना पनि यही कोटीमा पर्दछ । यस परियोजनाको प्राकृतिक बाँध ६० मिटर लम्बाइ र २२.५ मिटर उचाइको बन्ने र यसबाट १० लाख ५ हजार घनमिटर क्षमताको जलाशय निर्माण हुने योजना थियो । परियोजनाको कुल जलाधार क्षेत्र १ हजार ७ सय ४५ वर्ग किमिमध्ये अधिकांश भाग चीनको तिब्बतमा पर्दछ ।

विद्युत् गृहबाट २.५ किमि लामो टेलरेस टनेलबाट पानीलाई पुनः तामाकोशी नदीमा पठाइने हो । यस परियोजनाबाट उत्पादित विद्युत् २२० के.भी. क्षमताको ४७ किमि लामो डबल–सर्किट प्रसारण लाइनद्वारा खिम्तीस्थित सबस्टेसनमा पु¥याइने छ । आयोजना निर्माणका लागि सिंगटीदेखि लामाबगरसम्म २८.५ किमि लामो प्रवेश मार्ग निर्माण भएको छ । यसका साथै दोलखा बजारेखि सिंगटीबजारसम्मको ३३ किमि लामो ग्रामीण कृषि सडक पनि सुधार भइसकेको छ । यस परियोजनामा तीन मिटर उचाइको प्राकृतिक बाँध, धेरै राम्रो भौगर्भिक बनावट, सुख्खायामको न्यूनतम राम्रो बहाव, बाढीको परिमाण कम र नदीमा सेडिमेन्ट कम आउने परियोजनाका प्रमुख विशेषताहरु हुन् भने बाधँको निर्माणपछि २४६ मिटर लम्बाइको २ वटा च्याम्बर बालुवा थिग्ग्राउने पोखरी भएर ५.८ मिटर व्यास र ७.२ किमि लम्बाइको हेडरेस सुरुङ सर्जटेक हुँदै २.१ किमि लामो पेनस्टकमार्पmत पानीलाई गोगरस्थित भूमिगत विद्यत् गृहमा पु¥याइने कार्य भइरहेको छ । विद्युत् गृहको आकार ११३ मिटर लम्बाइ, १३ मिटर चौडाइ र ३२ मिटर उचाइ हुने योजना छ । विद्युत् गृहमा ४ वटा सेट पेल्टन टर्बाइन जडान गरिने कार्य लगभग सकिएको छ । सदरमुकाम चरिकोटदेखि यस आयोजनास्थलसम्म पुग्ने ६८ किमि सडक निर्माण भैसकेको छ । आयोजनाको मुख्य ठेकेदार चिनियाँ कम्पनी सिनोहाइड्रोले निर्माण कार्य गरिरहेको छ ।

नेपालमा जलविद्युत् उत्पादनको क्षमताक्रम र कार्यशैली अत्यन्तै धिमा गतिमा रहेको छ, जसबाट समय र लगानीको मात्र बर्बादी भैरहेको छ । पाँच वर्षमा निर्माण कार्य सम्पन्न गर्ने लक्ष्यसहित २०६७ साउनबाट शुरु गरेर २०७२ असारसम्ममा सम्पन्न हुनुपर्ने माथिल्लो तामाकोशी परियोजना शुरु भएको ११ वर्षसम्म पनि निर्माण कार्य पूरा नहुने भएको छ । त्यति मात्र होइन, आगामी २०७८ वैशाखभित्र यस आयोजनाबाट विद्युत् उत्पादन गर्ने आयोजनाले जानकारी गराए पनि उक्त समयावधिमा समेत पूरा नहुने देखिएको छ । यस आयोजनाबाट व्यावसायिक उत्पादन समयमा नहुँदा शुरुको लागत रु. ३५ अर्बबाट बढेर रु. ७६ अर्ब पुग्ने भएको छ । यस्तै रु. ११ अर्बको मध्यमस्र्याङ्दी जलविद्युत् परियोजना रु. ३५ अर्बमा पूरा भएजस्तै तामाकोशीको नियति पनि यस्तै भएको छ ।
देशका जतिसुकै ठूला जलविद्युत् आयोजनाहरु पनि पाँच वर्षमा सम्पन्न हुन सक्छन् तर माथिल्लो तामाकोशीको समयावधि मात्रै होइन यसको लागतसमेत ११ वर्षसम्म शृङ्खलाबद्धरुपमा थपिन पुगेको छ । यसैले विद्युत् उत्पादन सस्तो हुने त सवालै रहेन, निर्माण अवधि दोब्बरभन्दा धेरैले बढेको यस आयोजनाको अनुमानित लागत ३५ अर्बबाट ७६ अर्ब रुपियाँसम्म पुग्नु भनेको आफैंमा एउटा दुःखद पक्ष हो ।

आयोजनाको थालनी हुँदा ब्याजबाहेक ३५ अर्ब रुपियाँमा यस परियोजना सम्पन्न गर्ने सर्त उल्लेख थियो, तर निर्माण कार्य थालिएको ११ वर्षसम्म पनि शृङ्खलाबद्धरुपमा पटक–पटक समय थपिँदै गयो । आयोजनाको वित्तीय व्यवस्थापन हुँदा अमेरिकन डलर रु. ७२ रहेको अवस्था थियो भने आयोजना सम्पन्न भैसक्दा अमेरिकी डलर रु. ८० प्रक्षेपण गरिएको भए पनि अहिले एक अमेरिकी डलरको मूल्य रु. ११७ पुगेको छ । अहिले डलरको मूल्यमा धेरै ठूलो परिवर्तन आउँदा पनि लागत बढेको हो । तर अन्य आयोजनासँग तुलना गर्दा अत्यधिक नभएको आयोजना व्यवस्थापन पक्षको दाबी छ । अहिले पनि प्रतिमेघावाट लागत रु. १७ करोडभन्दा तलै रहेको अनुमान आयोजनाको छ । यस आयोजना कार्यान्वयन हुने भएपछि शुरुका दिनहरुमा यसका शेरयहोल्डरहरु निकै उत्साहित भएका थिए तर लागत बढ्दै जाँदा उनीहरु पनि निराश भएका छन् ।तथापि, देशमा प्रचुर मात्रामा जलविद्युत् उत्पादन गरी निर्यात गरेर डलर कमाउने सपना बाँड्नुभन्दा पनि विनालोड्सेडिङ अझै अन्धकारमा रहेका ३० प्रतिशत नेपालीहरुको झुपडी र घर–आगँनमा निर्बाधरुपमा बत्ती बाल्न पाउनु नै नेपालको लागि यस क्षेत्रमा सबैभन्दा ठूलो उपलब्धि मान्न सकिन्छ ।

यस तामाकोशी आयोजना र मध्यमस्र्याङ्दी परियोजनाले जुन नियति भोग्नुप¥यो त्यसको पाठ सिकेर समयमै अन्य परियोजनाको निर्माण कार्य सम्पन्न गरी विद्युत् उत्पादन गर्न सकेको खण्डमा विद्युत् उत्पादनकै इतिहासमा नेपाली जनताले भारी सन्तोषको अनुभूति गर्न सक्नेछन् । समय लम्बिँदै जाँदा रु. ११ अर्बमा निर्माण हुने मध्यमस्र्याङ्दीको लागत बढेर रु. ३५ अर्ब पुग्न गयो । हुन त नेपालीहरु आफैंले पूँजी र श्रम लगानी गरी ठूला परियोजना निर्माण गर्न सक्छन् भन्ने शुभ सन्देश तामाकोशी आयोजनाले दिएको छ । तोकिएकै समयावधि र अनुमानित लागतमै तामाकोशी बन्नु नै मुलुकको हितमा थियो तर त्यो असम्भव साबित भइसकेको छ । जब सबै क्षेत्रमा विद्युत्को प्रयोग हुन्छ त्यहाँ धेरै प्रकारका विकासका पूर्वधारहरु पनि निमार्ण हुन्छन्, जसले गर्दा व्यक्ति विशेषमा मात्र होइन समाजको दैनिक जीवनमा पनि आमूल परिवर्तन आउने कुरा निःसन्देह छ ।

प्रतिक्रिया दिनुहोस्